गलत तथ्यांक सच्याउन माग गर्दै धादिङका मगरहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

    
 

धादिङ । नेपाल मगर संघ धादिङले धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ ।
पुन मगर हैन, भन्ने गलत तथ्यांक तत्कालै सच्याउनका लागि मगर संघ धादिङले प्रधानमन्त्री, आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो ।

प्रधान मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहतमा रहेको राष्ट्रिय तथ्यांक विभाग कार्यालयले यही २०८० जेठ १९ गते जारी गरेको, भाषा र धर्म सम्बन्धीको तथ्यांक प्रति, उनीहरुको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सूचिकृत संख्यात्मक रुपमा सबै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर मध्ये पुन हो तर, नेपाल सरकार अन्र्तगतको राष्ट्रिय तथ्यांक कार्यालयमा लिखित रुपमा पटक–पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको उल्लेख छ ।

प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भिर त्रुटीले समाज भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको छ । सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायलाई द्धन्दको विजारोपण भएको हुनाले तत्कालै सच्याउन पत्र मार्फत अनुरोध गरिएको छ ।

इतिहास, भूगोल, भाषा, संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको हुनाले ३ दिनभित्र पुन जाति भनि सार्वजनिक गरिएको नौ हजार ८ सय २७ संख्यालाई तुरुतै मगर जातिको संख्यामा गाभ्न निर्देशन गर्नका लागि सम्बन्धीत निकायलाई अनुरोध गरिएको छ ।

त्रुटी नसच्याइएको अवस्थामा आप्फनो पहिचान र अस्तित्वका लागि शसक्त आन्दोलनमा जानको विकल्प नरहेको अवगत समेत पत्रमा उल्लेख गरिएको छ । नेपाल मगर संघ धादिङका बरिष्ठ उपाधयक्ष राम आले मगर र नेपाल मगर संघ वागमति प्रदेश द्वितीय सचिव ईश्वर पल्ली मगरकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको हो