नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई ५ विषयमा मुद्दा चलाइने

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितलाई राज्यविरुद्धको अपराध र सरकारी दस्तखत किर्तेसहित चार विषयमा मुद्दा चलाउने तयारी गरेको छ ।

राज्यसंयन्त्रकै सहयोगमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा भएको ठगीमा पक्राउ परेकाहरूमाथि प्रहरीले संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न निर्देशन दिएपछि चार विषयमा मुद्दा चलाइने भएको हो ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ प्रतिकूल हुने गतिविधिमा संलग्न रहेकाले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चल्ने भन्दै त्यस विषयमा पनि तयारी गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रहरीले भने संगठित अपराध र ठगी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी अगाडि बढाइरहेको जानकारी दिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु बन्देज गरिएको छ । सोही दफाको उपदफा २ (क)मा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धको अपराध हुन् ,’ भन्ने वाक्यासं लेखिएको छ ।

प्रहरीले सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा थप्ने तयारी गरिरहेको बताएको छ । शरणार्थीसम्बन्धी प्रतिवेदन किर्ते भएको र गृह मन्त्रालयको नामबाट नक्कली शरणार्थी परिचयपत्र जारी भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले ठगी मुद्दामा मुलुकी अपराध संहिताको दफा २५ को परिच्छेद २१ मा ठगीसम्बन्धी कसुरमा सजाय माग गर्ने तयारी गरेको छ । संहिताको दफा ३ (ग) मा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ । लिखतसम्बन्धी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

संगठित अपराध निवारण ऐन, २०७० मा सरकारी ओहोदामा बसेर ठगी गर्नेविरुद्ध थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

ठगी मुद्दामा बिगो असुल गरी पीडितलाई भराउनुपर्नेसमेत हुन्छ । यो मुद्दामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले फरक–फरक बिगो कायम गरी मुद्दा चलाउने तयारी गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पा, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाणका सहयोगी नरेन्द्र केसी, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सातजना प्रहरी हिरासतमा छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू प्रमाण हेर्दा संगठित अपराध, ठगी र सरकारी दस्तखत किर्तेमा मुद्दा चलाउन सकिने देखिएको बताउँछन् ।

काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले के–के विषयमा मुद्दा दायर गर्ने एकिन भइनसकेको, अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here