१० बर्षे जनयुद्ध बारे लेखिएको ‘जनयुद्धमा धादिङ’ पुस्तक लोकार्पण

धादिङ । एन. एस. मिडिया धादिङले प्रकाशन गरेको ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गरिएको छ । २०५२ साले देखि २०६२ साल सम्म चलेको जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, ऐतिहासिक फोटोहरु पुस्तकमा समेटिएको छ ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्तावेज बनेको र यो कृतिको महत्व छुट्टै रहेको बताएका थिए । कार्यक्रमका विशेष अतिथि संघीय सांसद रामनाथ अधिकारीले जनयुद्धको उपलब्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको बताएका थिए । जनयुद्धको क्रममा धादिङमा सबै दल, सेना प्रहरी र सामान्य नागरिक कतिले सहादत प्राप्त गरेका थिए एउटा महत्वपूर्ण कलेक्सनका रुपमा धादिङमा जनयुद्ध पुस्तक आएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमका अतिथि एवम् नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले पुस्तकको भावना र मर्म पठनीय त छदैंछ यो पुस्तकले उठाएको मर्मलाई स्थानीय सरकारले स्थानीय शिक्षाको पठ्यक्रममा समेत राख्नु पर्ने बहस पैदा गरेको बताएका थिए । अत्यन्त मेहनतका साथ पुस्तक तयार भएको देखियो । अब प्रदेश सरकार र स्थानीय सरकार मिलेर धादिङमा जिल्लाका सबै सहिदहरुको स्मृतिमा जनयुद्ध स्मृतिपार्क बनाउन मुख्यमन्त्री शालिकराम जमकट्टेलको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट बोल्दै एमाले धादिङका उप-सचिव राधिका सापकोटाले जनयुद्ध ठिक थियो थिएन त्यो फरक विषय हो । तर सो अवधिमा धादिङमा को कति मारिए थिए उनीहरुको जिवनी, घाईते अपाङ्ग र कति विस्थापित बने यी सूची समेटिएको पुस्तक प्रकाशित हुनु महत्वपूर्ण दस्तावेज रहेको बताएकी थिईन ।
पुस्तकबारे विमर्श मुलक मन्तव्य राख्दै डा. नविनबन्धु पहाडी र डा. हरिप्रसाद सिलवालले पुस्तक ऐतिहासिक दस्तावेजको रुपमा आएको सकारात्मक पाटो हुँदा हुँदै पनि द्वन्दको क्रमका सहिद परिवारको अवस्था, घाईते/अपाङ्ता भएका व्यक्तिको अहिलेको अवस्था के कस्तो छ, त्यो विषय छुटेको औंल्याएका थिए ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम् पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर थपलिया (विवेक) को सभापतित्वमा भएको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक प्रकाशनको लागि सहयोग गर्नेहरुलाई सम्मान पत्र एवम् कदर पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here