रसुवाको कालिका गाउँपालिकाले वडा बासीहरुको निशुल्क स्वास्थ्य बीमा गर्दै

रसुवा । कालिका गाउँपालिकाले आफ्ना वडा वासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट १ हजार ८९२ घरपरिवारका १२ हजार ६९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए ।
उनले १ फागुनदेखि १ वर्षे बीमाको सुविधा लागू भइसकेको र बीमाकर्ताले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सुविधा पाउने बताए । ५ गाउँपालिका रहेको जिल्लामा कालिकाले आफ्ना वडावासीलाई पहिलोपटक स्वास्थ्य बीमामा सहयोग गरेको हो । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाका अनुसार अनुसार गाउँपालिकाले बीमाका लागि वार्षिक १ करोड रुपैयाँ भुक्तानी गर्दै जाने छ ।
स्थानीय सरकारले गरिदिएको बीमाबाट ग्रामीण दूरदराजका बासिन्दालाई उपचारमा निकै सहजता मिल्ने जिबजिबेका समाजसेवी साधुराम पौडेलले बताए।
यार्सा, सरमथली, भोर्ले सरसिउ, बेताङ, जिबजिबे, ज्याङलाङ, रूप्सेपानी, भदौरेसमेत आसपासका  ग्रामीणवासीलाई प्राथमिक उपचारमा मद्दत पु¥याउने उद्देश्यका साथ २०३३ सालमा जिबजिबेकमा स्वास्थ्य संस्था स्थापना गरिएको थियो । यसका लागि तत्कालीन अग्रज समाजसेवी चुडामणिा पौडेल, देवीदत्त पौडेल, गोविन्दप्रसाद देवकोटा एवं डिल्लीराज देवकोटा लगायतले योगदान दिएका थिए ।
स्वास्थ्य संस्थामा दम, रूघाखोकी, गानुगोला, ज्वरो, झाडापखला, बाथ, उच्च रक्तचाप लगायत दैनिक सरदरमा दैनिक ३५–४० बिरामी आउने गरेको डा. सरोज श्रेष्ठले बताए । उनका अनुसार स्रोत साधनको अभावमा अस्पतालमा उपचार हुन नसकेका बिरामीमध्ये वार्षिक सरदर ५ देखि १० जनालाई सुविधायुक्त अस्पतालमा सिफारिस गरिन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here