आठौँ धादिङ महोत्सव सम्पन्न: पाँच करोड बढीको कारोबार

धादिङ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको आठौँ धादिङ महोत्सव २०७९ सम्पन्न भएको छ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा बिभिन्न संघसस्था, स्थानिय तहहरुको प्रायोजनमा पुष ७ गतेदेखी सुरु भएको महोत्सव आइतबार भव्य समारोहका बिच सम्पन्न भएको हो।
महोत्सव समापन गर्दै धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष विष्णु थपलियाले महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापारबाट पाँच करोड बराबरको कारोबार भएको जानकारी दिनुभयो । यस बर्षको महोत्सवमा स्थानिय उत्पादनको प्रदशनी तथा बिक्रि वितरणलाई जोड दिईएको थियो ।
जसमा सल्यानटारको मास, बेनिघाट रोराङ गाउँपालिका स्थित जवाङको सुन्तला, रुवी भ्यालीको रुवि, खरीको पिँडालु, बिभिन्न पालिकाका कृषिजन्य उत्पादनहरु, गलैंचा, जडिबुटी तथा धादिङका अन्य उत्पादनहरुको विक्री तथा बजारीकरण गरिएको थियो ।महोत्सवमा जिल्लाका विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने नाच तथा झाँकी प्रदर्शन गरेका थिए।त्यस्तै ७ गतेदेखी सुरु भएको महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष थपलियाको सभापतित्वमा भएको समापन समारोहमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका सांसद गोविन्द लम्सालको बिशेष आतिथ्य रहेको थियो ।
समापन कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख, बिभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि,बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सहभागि अतिथिहरुले धादिङको विकास र समृद्धिको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here