कृषिवस्तुको आयातमा तेत्तीस प्रतिशतले घट्यो

काठमाडौं । वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)सम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रूपैयाँको वस्तु आयात भएको छ । सो अवधिमा निर्यातमा ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रूपैयाँको निर्यात भएको छ ।
चार महिनामा कृषिजन्य वस्तुको आयातमा समेत उल्लेख्य कमी आएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा कृषिजन्य वस्तुको आयात ३३ दशमलव २४ प्रतिशतले घटेर ९७ अर्ब १९ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ४५ अर्ब ५८ करोड रूपैयाँको आयात भएको थियो ।
यो चार महिनाको अवधिमा भटमास आयात ३२ दशमलव ८० प्रतिशत घटेर १८ अर्ब ३० करोड रूपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २३ करोड रूपैयाँको भटमास आयात भएको थियो । यस्तै पाम तेलको कच्चा पदार्थ आयात ३२ दशमलव ८६ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रूपैयाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १८ करोड रूपैयाँको आयात भएको थियो । यस्तै ३२ दशमलव ४८ प्रतिशतले घटेर सनफ्लावर तेलको कच्चा पदार्थ आयात चार अर्ब ९१ करोड रूपैयाँ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा सात अर्ब २८ करोड रूपैयाँ आयात भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here