आज हरिबोधिनी एकादशी र तुलसी विवाह

काठमाडौ । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई ठुलो–ठुली एकादशी पनि भनिन्छ । अन्य एकादशीहरूको तुलनामा हरिबोधिनीको एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा मानिन्छ । त्यसैले यस एकादशीलाई ठुली एकादशी भन्ने गरिन्छ ।
आज हरीबोधनी एकादशीका दिन, असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान श्रीविष्णु उठ्नु हुने पुराणमा उल्लेख छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । आजको एकादशीमा गरीने स्नान, दान, तप आदि सबै कार्यले अक्षय यज्ञ बराबरको फल दिने धार्मीक विश्वास गरीन्छ ।

हरिशयनी एकादशीदेखि ४ महिना क्षीरसागरमा भगवान श्रीविष्णु सुतेपछिको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधीमा कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसैले यो ४ महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिएन । अब भने चतुर्मासको अन्त्यसंगै माङ्गलिक कार्यहरूका लागि मुहूर्त खुल्ने गर्दछन् ।

कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधीलाई भीष्मपञ्चक भनिन्छ । महाभारत अनुसार कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिन ब्रत बसेका थिए । त्यसैलै अरु दिनमा ब्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत ठूलो एकादशीको दिनमा भने ब्रत बस्नै पर्ने मान्यता रहेको छ ।
आजको दिन तुलसीको विवाह समेत रहेको छ । हिन्दु धर्मशास्त्र वा आयुर्वेदमा महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्व छ । त्यसैले हिन्दु धर्मालम्बी घरघरमा तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
हिन्दु धर्मालम्बीहरु नियमित बिहान उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लाग्ने गर्दछन् । विशेष उत्सव, कुनै धार्मिक कार्य, जन्म वा मृत्युमा पनि तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग गरीन्छ । तुलसीको डाँठबाट बन्ने मालालाई पनि निकै शुभ र पवित्र मानिन्छ ।
हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । त्यसैले उमेर पुगेको ठानी तुलसीको बिरुवाको आजको दिन विवाह गरिदिने चलन पनि छ । यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर रंगरोगन गरेर श्रृङ्गार गर्ने र विवाहको प्रक्रिया पुर्याउने गरीन्छ ।
आज भगवान् श्रीविष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा एवं आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here