काठमाडौ । बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ७ दैलातुङ्गका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो । उनी भन्दै थिए, “पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।” यहाँ ३२ घर बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुनुहुन्छ ।
बयासी वर्षीय गजवीरले नेपालको राजनीतिक व्यवस्था फेर्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए । पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२–६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर आफ्नै छाक टार्न समेत जोहो गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
अठसठ्ठी वर्षीया श्रीमतीसँगै बस्दै आएका गजवीरका छ भाई छोरा र चार छोरी छन् तर उनीहरू कुनै पनि साथमा छैनन् । यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटे समुदायले डुङ्गा तार्ने काम गर्दथे । दैलातुङ्गदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जाने गर्दथे । गजवीरले १३ वर्षको उमेरदेखि डुङ्गा तार्ने काम गर्दै आएका थिए ।
तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन । सर्वसाधारणलाई नदी वारिपारि गर्न डुङ्गाको सहारा लिनुपथ्र्यो । मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो । अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुङ्गा गण्डकी किनारमा फालिएको छ र उनको आम्दानीको स्रोत बन्द भएको छ ।
यहाँकै रुकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो । उनान्सत्तरी वर्षका रुकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो । गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा छ पटक संसदीय निर्वाचनमा भोट हालेका छन् । “पहिला पहिला त घर आएर भोट माग्थे, अहिले त आएका छैनन्”, आसन्न मङ्सिर ४ को चुनावलाई लक्षित गर्दै उनले भने, “यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन् ।”
रुक बहादुरको घर नजिकै खानीगाउँ दैलातुङ्ग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो रहेको छ । पाल्पा निर्वाचन क्षेत्र नं २ मा पर्ने यो क्षेत्र लुम्बिनी प्रदेशको २ (१) हो । यहाँबाट २०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए। त्यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसका वीरबहादुर राना निर्वाचित भएका थिए । रानाको जन्मघरसमेत यसै वडामा पर्दछ । उनी अहिले लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत हुन्। पाण्डेय र राना दुवै अहिले गठबन्धनको तर्फबाट पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा उमेदवार छन् ।
अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । “घर उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैन्”, स्थानीयवासी पवित्रा बोटे भन्छिन्, “हामीलाई के नै चाहिएको छ र ? दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो ।”
बोटे बस्तीमा नेपाल सरकारले जनता आवास कार्यक्रमबाट बस्नका लागि घर निर्माण गरिदिएको थियो । स्थानीयवासी पवित्रा बोटका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर निर्माण भएका छन् । बाँकी घर झुपडी र टिनको छाप्रोयुक्त छन् ।
कूल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या भएको समुदायलाई नेपाल सरकारले अल्पसङ्ख्यकको सूचीमा राखेको छ । नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसङ्ख्यक सूचीमा परेका छन् । यसमा बोटे र माझी पनि पर्दछन् । पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा रहेको खानीगाउँको दैलातुङ्ग र वडा नं ६ स्थित यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदाय बस्छन् । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङ्गमा बोटे समुदायका ३२ घर छन् । त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन् । अहिले दैलातुङ्गमा बोटे समुदायको जनसङ्ख्या १५० छ भने दर्पुकमा यो समुदायको जनसङ्ख्या तीन सय ५० को हाराहारीमा छ ।
त्यस्तै तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् । विसं २०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या १० हजार छ । पाल्पामा भने यो जातिको जनसङ्ख्या आठ सय तीन छ । तीमध्ये महिलाको सङ्ख्या चार सय ३९ छ भने पुरुषको सङ्ख्या तीन सय ६४ छ । पाल्पाको कूल जनसङ्ख्या दुई लाख ६१ हजार एक सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसङ्ख्या भने शून्य दशमलव ३१ प्रतिशत छ । पाल्पा बाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लामा समेत बोटे जातिको बसोबास रहेको पाइन्छ ।