नेपाली कांग्रेसको समानुपातिक सूची तयार पार्न बालुवाटारमा बैठक

काठमाडौ । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक चलिरहेको छ । प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि समिति बैठक चलिरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  

कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समितिमा गृहकार्य भइरहेको पौडेलको भनाइ छ । 

समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिक बढीमा १ सय १० र कम्तीमा ११ उम्मेदवारको नाम बुझाउन सक्छन् ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसार दलहरूले समावेशी सिद्धान्तअनुसार उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने हुन्छ । दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको संख्यामा प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम दलहरूले आयोगमा बुझाउनुपर्छ ।
खसआर्य ३४, आदिवासी जनजाति ३२ जना, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिला हुनुपर्छ ।
यस्तै प्रदेश १ मा ३७, मधेस प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिममा २१ उम्मेदवारको नाम छनोट गर्नुपर्ने छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here