म्यादी प्रहरीले माेबाइल चलाउन नपाउने: अन्य कुराहरूमा पनि प्रतिबन्ध

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाकाे निर्वाचनमा खटिने म्यादी प्रहरीले ड्युटीको समयमा मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । नेपाल प्रहरीले म्यादी प्रहरीलाई केन्द्रित गर्दै बनाएको मापदण्डमा यस्तो नीति उल्लेख छ ।

गृह मन्त्रालयले स्वीकृत गरेको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार म्यादी प्रहरीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न नपाउने व्यवस्था गरिएकाे छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने, “म्यादी प्रहरी पनि ४० दिनका लागि प्रहरी नै हुन् । प्रहरीले आचारसंहिताभन्दा बाहिर गएर जुन कुरा गर्न पाउँदैनन्, त्याे नियम म्यादी प्रहरीका लागि पनि लागू हुन्छ ।”

नेपाल प्रहरीको आचारसंहिता २०७७ भित्र ड्युटीमा बसेको प्रहरीले मोबाइल फोन चलाउन नपाउने नीति उल्लेख छ । यदि चलाउनैपर्ने भए कमाण्डरसँग अनुमति लिएर प्रयोग गर्नुपर्ने हुन्छ ।

यही नीति म्यादी प्रहरीका लागि पनि लागू हुने राईले बताए ।

त्यस्तै म्यादी प्रहरीले ड्युटीको ड्रेस लगाएको फोटो तथा भिडिओ इन्टरनेट तथा सामाजिक सञ्जालमा राख्नका साथै राजनीतिक टिका टिप्पणी गर्न नपाउने व्यवस्था रहेकाे उनले जनाए ।
“सामाजिक सञ्जालमा म्यादी प्रहरीले आफ्नो परिवारको फोटो हाल्न पाउँछन्, जन्मदिनको कामना गर्न पाउँछन्,” उनी भन्छन्, “तर, राजनीतिक कुराबारे पोस्ट गर्न, टिप्पणी गर्न वा शेयर गर्न रोक लगाइएको छ ।”
यदि नीति विपरित गएर सामाजिक सञ्जालको प्रयोग गरिएको पाइएमा कारबाही गरिने उनले जनाए ।

गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीको जर्सी लगाएर बनाएका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here