सिट बाँडफाँट बारे गठबन्धन बिच सहमति नजिक: कस्ले कति सित पाउलान्

काठमाडौ । सत्ता गठबन्धनको सिट बाँडफाँड टुंग्याउन गठित कार्यदलले सिट संख्यामा सबै दलले लचकता अपनाएरै सहमति गर्ने तयारी थालेको छ।
लामो समयदेखि सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्ना अडानमा यथावत रहेर टुंगो लगाउन नसकेको सिट बाँडफाँडमा अब लचिलो बन्ने भएका छन् ।
सिट बाँडफाँटमा गठबन्धनका कांग्रेस लगायतका अन्य दलहरु पूर्ववत अडान बाट पछाडि हटेरै भए पनि सहमति गर्ने तयारी थालेका हुन्। नेकपा (माओवादी केन्द्र) समेत आफ्नो पहिलेको अडानबाट पछि हटेर भए पनि सहमति गर्ने तयारीमा रहेको बताइएको छ।
माओवादीका एक स्थायी समिति सदस्यका अनुसार सबैले आ आफ्नो अडान नछाडेकैले हालसम्म दलले प्राप्त गर्ने सिट संख्यामा सहमति हुन नसकेको हो।
उनले छिट्टै नै सिटबाँडफाँटको टुंगो लाग्ने जानकारी दिए। ती नेताका अनुसार बाहिर जे जस्तो चर्चा भए पनि आन्तरिकरुपमा दलहरुले प्राप्त गर्ने सिट संख्यामा लगभग सहमति नजिक पुगीसकेका छन्।
‘अब कांग्रेस पनि केही लचिलो बनेको छ, एकीकृत समाजवादी, जसपा, बाबुराम भट्टराई र जनमोर्चाको दाबी त्यति धेरै नभएकाले त्यहाँ समस्या छैन, छिट्टै सहमति लिखित रुपमा सार्वजनिक गर्ने तयारी छ,’ ‘अब कांग्रेस ८० माओवादी ५०, एकीकृत समाजवादी २० यसमा तलमाथि हुनसक्छ जसपा १५ भन्ने छ अब मोटामोटी यसकै वरिपरि सहमति हुन्छ। ’
जनमोर्चा र बाबुराम भट्टराईको पार्टीलाई यसै सिट संख्या अन्तर्गत मिलान गर्ने तयारी रहेको छ। माओवादीको बटमलाईन बाहिर आएजस्तो ६० भनिएता पनि ५० रहेको त्यसबाट सहमतिको लागि आफूहरु समेत लचिलो बन्ने उनको भनाइ छ।
उनका अनुसार सत्ता गठबन्धनमा रहेका पाँच दलहरु मध्ये हालसम्म कांग्रेसकै अडानका कारण सहमति हुन नसकेको हो। माओवादी अन्तिम समयमा ५०मा चित्त बुझाउन तयार रहेको उनले बताए।
एकीकृत समाजवादीले दाबी गरेजस्तो २० सिट दिन भने गठबन्धनका अन्य दलहरु तयार छैनन्। माधव नेपालको पार्टीको सिट संख्यामा भने घट्न सक्ने संभावना छ। सांगठनिक अबस्था र स्थानीय तहको मतपरिणामको आधारमा समेत माधव नेपालले दाबी गरेको सिट संख्या भने कम हुनसक्ने स्राेतले बतायो ।
यस्तै बाबुराम भट्टराईको नेसपाले संघमा तीन सिट दाबी गरे पनि पाउने संभावना छैन् । बाबुरामलाई भने गठबन्धनबाटै जित सुनिश्चित गराउने तयारीमा भने दलहरु रहेका छन्। राष्ट्रिय जनमोर्चाले पनि प्युठान या बागलुङमध्ये एक ठाँउबाट मात्रै प्रतिनिधिसभामा दिन गठबन्धन तयार रहेको छ।
प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ सिटमध्ये कांग्रेसले ८० मा चित्त बुझाउने र माओवादीले अन्तिममा ५० मा भए स्वीकार्ने संभावना रहेको बताइएको छ। अन्य दललाई मिलान गर्दा यसै अन्तर्गत तलमाथि हुने ती नेताको भनाइ छ। कांग्रेसका नेताहरु पार्टी भित्रैको दबावको सामना गरेरै भएपनि तत्कालै सहमति गर्ने तयारीमा रहेका छन्।
माओवादी र कांग्रेसबीच सहमति भए अन्य दलमा समस्या नभएको बताइएको छ। माओवादीका ती स्थायी समिति सदस्यका अनुसार केही दिन भित्रमा सहमति गरी सार्वजनिक गर्ने तयारीमा गठबन्धनको कार्यदल रहेको छ।
परिस्थितिमा कुनै फेरबदल नआएमा बिहीवारसम्म सहमति हुने बताइएको छ। कांग्रेसको पछिल्लो अडान ८० हो र उसले दाबी गरेको र गठबन्धनका अन्य दल समेत स्वीकार्ने तयारीमा छन्।
गठबन्धनका नेताहरु सिट बाँडफाँट ढिलो हुँदा कार्यकर्ता र नेताहरुमा समेत अन्यौलता उत्पन्न भएकाले जतिसक्दो चाडो टुंगोमा पुर्याउने तयारीमा रहेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत बताउँछन्।
पार्टीको धरातलीय यथार्थतालाई दृष्टिगत गदै कांग्रेस लचकता अपनाउन तयार रहेको उनले बताए। ‘सुरुमा सबैले आफ्नो दाबी त गर्न पायो तर निचोड निकाल्ने समयमा सबैले आफ्ना अडानबाट पछाडि हट्नै पर्छ।
सांगठनिक अबस्था र कार्यकर्ताको सम्मान हुने गरि सबै लचिलो बनेर नै सहमति हुन्छ,’ प्रवक्ता महतले भने, ‘अब सबैले अस्वभाविक रुपमा सिटको माग गर्ने र आफूले भने अनुरुप नै हुने हो भने गठबन्धनको औचित्य के भयो त?, त्यसैले सबैको बस्तुगत धरातल र यथार्थताको आधारमा परिणाममुखी निश्कर्ष निकाल्न कांग्रेस लगायत सबैले लचक हुनुपर्यो।’
गठबन्धनको कार्यदलले केही दिनमा टुंगो लगाउने प्रवक्ता महत बताउँछन्। कांग्रेस आफ्र्नो स्वघोषित बटमलाइनबाट समेत सहमतिको लागि पछि हट्ने उनको आशय छ। तर ,कांग्रेसको कति सिट संख्यामा दाबी छ? भन्ने प्रश्नमा भने उनले खुलाउन चाहेनन्।
बाहिर प्रचारमा आए जस्तो दाबी कांग्रेसको संस्थागत नभएको उनको प्रष्टोक्ति छ। गठबन्धनमा कांग्रेसले ८० सिट पाउने निश्चित छ। यस अगाडि कांग्रेसले १०० सिट दाबी गरेको चर्चा बाहिर आएको थियो। यद्यपि उक्त दाबी कांग्रेसको संस्थागत नभएको प्रवक्ता महतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here