आइतबारदेखि रसुवागढी नाका र तातोपानी नाका फेरि बन्द

काठमाडौ । कोरोनाका कारण तीन वर्षयता निर्यात ठप्प र आयात प्रभावित भइरहेका उत्तरी रसुवागढी र तातोपानी नाका फेरि बन्द भएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछि चीनले आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको थियो भने बुधबारदेखि तातोपानीबाट हुने आयात पनि रोकेको छ । 

रसुवागढी नाकाबाट शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ,’ उनले भने, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने नआएको मैनालीले जनाए । तिब्बततर्फ कोरोना संक्रमण देखिएको अपुष्ट जानकारी आएको उनको भनाइ छ ।
आयात रोकिनुअघिसम्म नाकाबाट प्रतिदिन बढीमा १४ चिनियाँ कन्टेनर सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारीका सामान तिब्बतमै रोकिएका छन् । नेपाल ल्याउन लोड भएका सामान केरुङमा रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘नेपाली ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज र दसैंका सामान लोड थिए ।’ तिब्बतमा कोरोना बढेपछि त्यहाँका सरकारी कार्यालय र विद्यालय पनि बन्द भएको अनौपचारिक जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको भनाइ छ । तिब्बत सरकारले पहिलो चरणमा आठ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको उनले बताए ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट पनि बुधबारयता मालवाहक सवारीसाधन आउन ठप्प भएको हो । चीनको वुहानसहित विभिन्न प्रान्तमा कोरोना फैलिएको भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको हो । चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट चीनमा कोरोना फैलिएको सन्देशसहित कन्टेनर आउजाउ नहुने जानकारी आएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख नारद गौतमले जनाए । ‘चीनको माथिल्लो तहबाट केही सन्देश आएको छैन, यति दिन बन्द गर्ने भन्नेबारे खास केही सेड्युल पनि छैन, सुरक्षाकर्मी, प्रशासन र महावाणिज्यदूतसहित अन्य निकायसँग यसबारे बुझ्दा चीनले कोरोनाकै कारण देखाएर बन्द गरेको सन्देश पाएका छौं,’ उनले भने । पछिल्लो समय तातोपानी नाकाबाट स्याउ र हाइड्रोपावरका उपकरणजस्ता सामग्री प्रतिदिन आठ कन्टेनर भित्रिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here