रसुवागढी हाइड्रोपावरको आयोजना प्रभावित स्थानीयका लागि आजदेखी आईपीयो खुल्यो

रसुवा । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आइपीयो निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि आईपीयो निष्कासन गर्ने लागेको हो । 
रसुवाबासीका लागि रसुवागढीले १०० रुपैयाँ अंकित ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । 

कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ र वडा नम्बर ५ चिलिमे र गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५ : १.५ : १ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 
निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन १० गते तोकिएको छ । आईपियोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ । आईपीयोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको ८३ प्रतिशत काम सकिएको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here