एसपीपीमा सम्झौता नगर्न सांसद गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि नेपालले सम्झौता गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै थापाले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै त्यसबारे प्रस्ट पार्नुपर्ने माग गरे ।

‘हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्‍यौँ । यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो । मुलुकलाई समृद्ध पार्ने हो,’ उनले भने, ‘तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन । त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन ।’
उनले नेपालले विकासका लागि सबै मित्रराष्ट्रहरूसँग मिलेर काम गर्नुपर्ने, तर उनीहरूले यो गर वा त्यो गर भनेको कुरा सुन्न नहुने बताए । उनले एसपीपीबारे प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद‍्‍मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने प्रष्ट जवाफ दिनुपर्ने बताए ।
‘अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ ।’

उनले सामरिक विषयहरूमा नेपालले सजग भएर कदम चाल्नुपर्ने बताए । ‘जहाँ सामरिक विषय हुन्छ, त्यो विषयमा हामीजस्तो देशले शक्ति राष्ट्रहरूको छेऊमा पनि जानु हुँदैन । यो मेरो विचार मात्रै होइन, नेपालको संविधानले नै त्यही भन्छ । मेरो पार्टी नेपाली कांग्रेस पार्टीको निर्णयले पनि त्यही भन्छ,’ महामन्त्री थापाले अघि भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here