टिकटकको उत्पत्ति सम्बन्धि इतिहास र यस्का ५ रोचक तथ्यहरु

काठमाडौं । छोटा-भिडिओ शेयर गर्न मिल्ने प्लेटफर्मका रूपमा परिचित टिकटक अहिले विभिन्न फिचरले गर्दा धेरैको रोजाइमा परेको छ । ओर्बेलोका अनुसार टिकटक सार्वजनिक भएको छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप हो ।

आज हामी यही परिचित एप टिकटकबारे केही रोचक जानकारी दिँदै छौं । टिकटक आईओएस र एन्ड्रोइड एप हो, जुन छोटा भिडिओ बनाउन र शेयर गर्न प्रयोग गर्ने गरिन्छ । साथै याे एपमा लाइभ बस्न मिल्ने सुविधा छ भने अरू फिचर पनि थपिने क्रममा छन् ।
टिकटक सबैभन्दा पहिले चीनका लागि सन् २०१६ मा Douyin नामबाट सार्वजनिक भएको थियो । त्यसको एक वर्षपछि अर्थात् २०१७ मा बाइटडान्सले चीन बाहिरका बजारका लागि टिकटक सार्वजनिक गर्‍यो ।

टिकटककाे चिनियाँ र विश्व संस्करण दुवैले एउटै सफ्टवेयर प्रयोग गर्छन् । तर, चिनियाँ सेन्सरशिप प्रतिबन्ध पालना गर्न छुट्टाछुट्टै नेटवर्कहरू कायम राख्छन् ।

टिकटक हाल विश्वका प्रायः देशमा एप स्टोर र प्ले स्टोरमा उपलब्ध छ । तपाईंंलाईंं म्युजिकल्ली पनि टिकटकजस्तै थियो, पछि हरायो भन्ने लाग्ला ।

सन् २०१७ मा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले म्युजिक्ली खरिद गरेको थियो । पछि टिकटकमा मर्ज भएपछि त्यसले अमेरिकामा म्युजिकल्ली प्रयोग गर्ने प्रयोगकर्तामाझ राम्रो प्रभाव बनायो ।
टिकटक स्थापनाको मुख्य उद्देश्य भनेको मानिसहरूले जीवनका विशेष पलहरू शेयर गर्न, ज्ञानज्ञुनका कुरा शेयर गर्न, रचनात्मक कुराहरू मोबाइलबाट शेयर गर्न सहज होस् भन्ने हो ।
टिकटकका माध्यमबाट जोकोही पनि आफूले जानेका कुराहरूबारे कन्टेन्ट बनाएर कन्टेन्ट क्रियटर बन्न सक्छन् । अहिले टिकटकको यही विचार अन्य सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युबले आत्मसात् गरेर आफ्नो प्ल्याटफर्ममा लागू गरेका छन् ।

टिकटकमा सोही एप प्रयोग गरी मानिसहरू सहजै आकर्षक भिडिओ बनाउन सक्छन् । त्यसैले पनि मानिसहरूको  आकर्षण टिकटकमा बढी छ ।
टिकटकका ५ राेचक तथ्य
१. टिकटकका कति प्रयोगकर्ता छन् ?
सन् २०१६ बाट सुरु भएको टिकटकले पाँच वर्षको अवधिमा लोभलाग्दो ख्याति आर्जन गरिसकेको छ ।

सेन्सर टावरका अनुसार टिकटक २०२२ को पहिलो पहिलो त्रैमासिकमा एपस्टोर र प्लेस्टोरमा ३.५ अर्ब पटक डाउनलोड भइसकेको छ ।
टिकटकले मासिक एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको बताएको छ । फेब्रुअरी २०१९ मा अर्ब क्लबमा प्रवेश गरेको टिकटकले छोटो समयमा नै तीव्र सङ्ख्यामा डाउनलोड हुने एप भएको हो ।

२. टिकटक एप्पल स्टोरमा सर्वाधिक डाउनलोड हुने एप
सकारात्मक रूपले होस् वा नकारात्मक रूपले होस्, टिकटक चर्चामा छ । सेन्सेर टावरका अनुसार २०२२ को पहिलो त्रैमासिकमा एप स्टोरमा टिकटक सात करोड पटक डाउनलोड भएको छ ।
यसअन्तर्गत सबैभन्दा बढी आईफोन र केही आईप्याडमा डाउनलोड भएका छन् । यससँगै टिकटक एपस्टोरमा सर्वाधिक डाउनलोड हुने एप हो ।

३. प्ले स्टोरमा टिकटकको डाउनलोड
प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने एपमध्ये तेस्रोमा पर्ने टिकटक २.८ अर्व पटक डाउनलोड भएको छ । प्लेस्टोरमा सर्वाधिक डाउनलोड हुने एप फेसबुक हो । दोस्रोमा मेटाको अर्को एप इन्स्टाग्राम रहेको छ ।

४. औषतमा प्रति प्रयोगकर्ताले टिकटकमा कति समय बिताउँछन्?
औसतमा प्रति प्रयोगकर्ताले टिकटकमा ५२ मिनेट बिताउने गर्छन् । यसको अर्थ मानिसहरूले भिडिओ बनाउनलाई होस्, शेयर गर्नलाई होस वा हेर्नलाई होस् औसतमा ५२ मिनेट बिताउने गर्छन् ।

५. १० जना प्रयोगकर्तामध्ये ९ जनाले दिनमा दुई पटक टिकटक प्रयोग गर्छन्
टिकटकमा ९० प्रतिशत सक्रिय प्रयोगकर्ता दैनिक एक पटक टिकटक प्रयोग गर्ने गर्छन् । ओर्बेलोको अध्ययन अनुसार सक्रिय प्रयोगकर्तामध्ये ६८ प्रतिशत अरूको भिडिओ हेर्छन् भने ५५ प्रतिशतले आफ्ना भिडिओ अपलोड गर्ने गर्छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here