मनसुन सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र हुने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको बताए । उनले अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द हुने बताए  ।

योसँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी पनि बन्द गरिएको उनले जानकारी दिए । वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो । 

निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म रु आठ करोड १७ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here