एक महिनामा उच्छृङ्खल ४६ म्यादी प्रहरीलाई कारबाही

काठमाडौ । निर्वाचन सुरक्षा कायम गर्न ४० दिनको लागि एक लाख अस्थायी प्रहरी भर्ना लिइएको एक महिना पूरा भएको छ तर म्यादी प्रहरीका कतिपय गतिविधिले उनीहरूलाई कारबाहीको भागिदार मात्रै बनाएको छैन, सामाजिक सञ्जालमा आलोचना र बहसको विषय समेत बनाएको छ।

नेपाल प्रहरीका अनुसार केही म्यादी प्रहरीमाथि फौजदारी अभियोगमा संलग्न भएको आरोपमा अनुसन्धान समेत चलिरहेको छ।

नेपाल प्रहरीको जस्तै पोसाक लगाएर निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरीका कतिपय गतिविधि सामाजिक सञ्जालमा भाइरल छन्। म्यादी प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएका भिडिओ बाहिरिएपछि प्रहरीले संलग्नमाथि कारबाही गरिएको जनाएको छ।

नेपाल प्रहरीका अनुसार कतिपय स्थानमा म्यादी प्रहरीले मादक पदार्थ सेवन गरेर प्रहरी कर्मचारीहरूसँगै झगडा गरेका घटनाहरू पनि छन्। “मादक पदार्थ सेवन गर्ने, तालिमकै दौरानमा वा काममा पनि लापरबाही गरेर प्रहरी सङ्गठन र बर्दीकै बदनाम गर्ने प्रकृतिका कामहरू गरेको अवस्थामा चाहिँ उनीहरूको नियुक्ति खारेज गरेको अवस्था हो,” नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने।

बिहीवारसम्मको विवरण अनुसार प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा म्यादी प्रहरीमाथि कारबाही वा नियुक्ति बदरका घटना भएका छन्। मधेस प्रदेशमा कर्तव्यपालनमा लापरबाही गरेको अभियोगमा एक जना म्यादी प्रहरी कारबाहीमा परेका छन्।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ जना म्यादी प्रहरीले विभिन्न अभियोगमा जागिर गुमाएका छन्। जसमध्ये कतिपय जागिर छोडेर भाग्नेहरू पनि छन्।

कर्णाली प्रदेशमा विभिन्न कसुरमा संलग्न भएका कारण १२ जना म्यादी प्रहरीले जागिर गुमाएका छन्। सुदूर पश्चिम प्रदेशमा पनि मादक पदार्थ सेवन गरेका कारण सात जना म्यादी प्रहरीको जागिर गएको छ। लुम्बिनी प्रदेशमा मादक पदार्थ सेवन गरेर प्रहरी कर्मचारीहरूसँग झगडा गरेको र खटाइएको ठाउँमा नगएको पाइएपछि सात जना म्यादी प्रहरीमाथि कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाण्डूमा एक जना म्यादी प्रहरीमाथि बलात्कारको उजुरी परेपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको विवरणहरू आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here