भारत बाहेक विनोद चौधरी दक्षिण एसिया कै एक्ला अर्बपति: थप १० करोड डलरको सम्पत्ति वृद्धि

काठमाडौ । विश्वभरिका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्ष पनि विश्वभरिका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ ।
गए राति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् ।

दक्षिण एसियाका अरू मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेनन् । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पयत्त गत वर्ष १.४ अर्ब डलर रहेकामा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९औँ नम्बरमा छन् । चौधरी सन् २०१३ देखि अर्बपतिहरूको सूचीमा रहँदै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।
उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेका मुलुकहरूमध्ये तेस्रो भएको छ । भारतमा १६६ अर्बपति छन् भने अर्को छिमेकी मुलुक चीनमा ५३९ अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७३५ छ ।
२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यो वर्ष पनि विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । यस्तै, दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी व्यक्ति रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here