रुस द्वारा पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता: अन्तर्राष्ट्रिय राजनीति फरक मोडमा

अन्तरास्ट्रिय खबर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन द्वारा पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको छ । वर्षौंदेखि अलग राज्यको माग गर्दै विद्रोही समूह सक्रिय भइरहेका यी क्षेत्रलाई रुसले मंगलबार अलग राज्यको मान्यता दिने निर्णय गरेको हो ।

यससँगै रुसले ती क्षेत्रमा सैनिक परिचालन गर्ने समेत भनेको छ । युक्रेनकै कारण रुसको अमेरिकासहित अन्य शक्तिशाली देशहरूसँग तिक्तता रहँदा पछिल्लो निर्णयले थप तनाव सिर्जना गर्ने देखिएको छ ।
पुटिनको निर्णयसँगै अन्तर्राष्ट्रिय समुदायबाट उनको कडा आलोचना हुन थालेको छ । अमेरिकाले भने रुसी निर्णयलाई काउन्टर दिँदै युक्रेनमा सक्रिय विद्रोही शक्तिलाई आर्थिक नाकाबन्दी लगाउनुका साथै आवश्यक परे थप शक्ति परिचालन गर्ने चेतावनी दिएको छ ।
यद्यपि सोमबार राति नै रुसी राष्ट्रपतिले शान्ति स्थापनाका लागि भन्दै सैनिक परिचालन गरेका थिए । महिनौंदेखि युक्रेन संकट लम्बिरहँदा पुटिनको निर्णय आएको हो । तर अमेरिकासहित युरोपेली शक्तिहरूले रुसको कडा आलोचना गर्न थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा पुटिनको कदमको निन्दा
बाइडेनले रुसी राष्ट्रपतिको उक्त निर्णयको कडा रुपमा निन्दा गरेका छन् । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रपति बाइडेन युक्रेनको पूर्वी क्षेत्रहरूको ‘स्वतन्त्रता’ लाई कथित रूपमा मान्यता दिने रूसी राष्ट्रपति पुटिनको निर्णयको कडा निन्दा गर्नुहुन्छ ।’
बाइडेनले युक्रेनका समकक्षी भ्लादमिर जेलेन्स्कीलाई सम्बोधन गर्दै रुसी आक्रमणका लागि अमेरिकाले छिट्टै र निर्णायक रुपमा जवाफ दिने भन्दै सान्त्वना दिएका छन् ।

रुसले आत्मघाती निर्णय लियो : जर्मनी
जर्मनीका अर्थमन्त्री क्रिस्टियन लिन्डरले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै रुसी जनताको हानीका लागि आफैं अलग्गिएको टिप्पणी गरेका छन् । जसले गर्दा नेटो र युरोपियन युनियनलाई नजिक बनाएको उनको प्रतिक्रिया छ । साथै उनले युक्रेनको सार्वभौमिकताका लागि ऐक्यबद्धता जनाएका छन् ।

युक्रेनको सार्वभौमिकतामाथि ऐक्यबद्धता छ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन
अमेरिकी विदेशमन्त्रीले पुटिनको निर्णयप्रति आफूहरूले कडा रुपमा निन्दा गर्ने जनाएका छन् । ‘युक्रेनका स्वघोषित दुई क्षेत्रलाई स्वतन्त्रता मान्यता दिने रुसी निर्णयप्रति हामी कडा रुपमा निन्दा गर्छौं,’ ब्लिन्केनले भनेका छन् । साथै रुसले गरेका प्रतिबद्धता र सम्झौताको उल्लंघन भएको भन्दै उनले आपत्ति जनाएका छन् ।
यस्तै उनले युक्रेनको सार्वभौमिकताप्रति अमेरिकाको ऐक्यबद्धता जनाउँदै यहाँको सरकार र जनताप्रति साथ रहने उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघद्वारा आपत्ति
महासचिव गुटेरेसले रूसको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् । साथै संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूसँग असंगत भएको उनले जनाएका छन् ।

चीनको सन्तुलित प्रतिक्रिया
विश्व समुदायले नै रुसको आलोचना गरिरहँदा चीनले भने यस घटनालाई ‘जटिल पक्ष’ भन्दै सन्तुलित प्रतिक्रिया दिएको छ । रुसको निकटतम मित्रराष्ट्रको रुपमा चिनिएको चीनले यस घटनामा कुनै पनि पक्ष नलिइकन बरु तनाब बढाउन सक्ने कार्यबाट बच्न आग्रह गरेको छ । ‘युक्रेनमा पछिल्लो अवस्था थुप्रै जटिल पक्षहरूको नतिजा हो,’ संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले सुरक्षा परिषद्‍को बैठकमा भनेका छन् ।

रुसले आफ्नै प्रतिबद्धता उल्लंघन गर्‍यो :

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंरुस र अमेरिकाबीच वार्ताको पहल गर्ने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि रुसको पछिल्लो निर्णयलाई साथ दिएका छैनन् । उनले रुसको निर्णय आएलगत्तै त्यसप्रति आपत्ति जनाएका हुन् । राष्ट्रपति म्याक्रोंले पूर्वी युक्रेनमा पृथकतावादी क्षेत्रलाई मान्यता दिएर रुसले आफ्ना प्रतिबद्धता उल्लंघन गरेको बताए । साथै युक्रेनको सार्वभौमसत्तालाई रुसले कमजोर पारिरहेको उनको भनाइ छ । म्याक्रोंले रुसको निर्णयको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्‍को आपतकालीन बैठकको माग समेत गरेका छन् ।

द्वन्द्व समाधानको प्रयासलाई कमजोर बनाउने काम भयो : नेटो प्रमुख जेन्स स्टोलटेनबर्ग
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) रुसी निर्णयको निन्दा गर्दै यसले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई थप कमजोर बनाउने बताएका छन् । साथै, रुसी निर्णयले द्वन्द्व समाधानको प्रयासलाई थप कमजोर बनाउने उनको भनाइ छ । यस्तै यसले मिन्स्क सम्झौताको उल्लंघन गरेको उनले उल्लेख गरेका छन् । स्टोलटेनबर्गले विज्ञप्ति मार्फत् यस्तो जनाएका हुन् ।
यसैबीच ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको उक्त निर्णयको छिट्टै जवाफ दिने छन् । जसले युक्रेनको कथित स्वतन्त्र राज्यहरूमा अमेरिकी लगानी तथा व्यापार निषेध गर्ने पनि बताउने छन् ।

बेलायतको पनि विरोध
युकेका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसको निर्णयप्रति आपत्ति जनाउँदै युक्रेनलाई साथ दिएका छन् । जोन्सनले रुसले युक्रेनका दुई राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएकोमा युक्रेनको सार्वभौमसत्ता उल्लंघन गरेको र मिन्स्क सम्झौता अस्वीकार गरेको भन्दै टिप्पणी गरेका छन् ।
‘यो युक्रेनको सार्वभौमसत्ता तथा अखण्डता र मिन्स्क सम्झौताको स्पष्ट उल्लंघन हो,’ जोन्सनले भनेका छन् । साथै युक्रेनका जनताको साथमा आफूहरू रहेको भन्दै सहयोग जारी राख्ने उनले बताएका छन् ।
रुसको विवादित निर्णयबारे युकेका विदेशमन्त्री लिज ट्रसको पनि प्रतिक्रिया आएको छ । उनले पनि रुसी निर्णयबाट युक्रेनको सार्वभौमसत्ता र मिन्स्क सम्झौता उल्लंघन भएको भन्दै रुसको कडा आलोचना गरेका छन् ।
युरोपेली आयोग प्रमुख उर्सुला भोन देर लेएन भन्छिन् : मिन्स्क सम्झौताको उल्लंघन भयो
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन देरले पनि रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै कडा आलोचना गरेकी छन् । ‘युक्रेनमा दुई पृथकतावादी क्षेत्रलाई स्वतन्त्र मान्यता दिनु अन्तर्राष्ट्रिय कानुन, युक्रेनको क्षेत्रीय अखण्डता र मिन्स्क सम्झौताको स्पष्ट उल्लङ्घन हो’ लेएनले भनेकी छन् । साथै उनले युक्रेनप्रति ऐक्यबद्धता जनाएकी छन् ।

युक्रेनलाई जापानी प्रधानमन्त्री किशिदाको साथ
जापानले पनि रुसको विरोध गर्दै युक्रेनलाई साथ दिएको छ। प्रधानमन्त्री फुमियो किशिदाले रुसको निर्णय सैह्य नहुने भन्दै चेतावनी दिएका छन् । जापानले रुसी निर्णयको कडा जवाफ दिने भन्दै किशिदाले चेतावनी दिएका छन् । रुसले क्षेत्रीय अखण्डता उल्लंघन गरेको भन्दै यस्तो निर्णय स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
किशिदाले रुसलाई चेतावनी दिएका छन्, ‘यदी आक्रमण भयो भने, हामी प्रतिबन्धसहित कडा प्रतिक्रिया दिनेछौं । जी ७ र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै त्यस स्थितिलाई हामीले नजिकबाट नियालेका छौं ।’

संयम हुन भारतको आग्रह
भारतले भने उत्पन्न भएको तनाबप्रति सबै पक्षलाई संयम हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूतले युक्रेन संकटबारे उत्पन्न संकटप्रति सबै पक्षलाई संयम हुन आग्रह गरेका हुन् ।
उनले तत्कालका लागि तनाब कम गर्नु नै उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । राजदूत टीएस तिरुमूर्तिले भनेका छन्, ‘सबै देशहरूको वैध सुरक्षा हितलाई ध्यानमा राख्दै तनाब कम गर्नु नै अहिलेको प्राथमिकता हो ।’
यद्यपि भारतले स्पष्ट रुपमा रुसको निर्णयप्रति प्रतिवाद गरेको छैन । राजदूत तिरुमूर्तिले उक्त क्षेत्र र बाहिर दीर्घकालीन शान्ति र स्थायित्व सुनिश्चित गर्ने लक्ष्य राख्दै अहिले संयम हुन आग्रह गरेका छन् ।

अस्ट्रेलियाको कडा टिप्पणी
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भने रुसी राष्ट्रपति पुटिनलाई ‘बकबास’ भन्दै टिप्पणी गरेका छन् । पुटिनले युक्रेनका ती राज्यमा सैनिक पठाउने भनेसँगै मरिसनले बकबास भन्दै प्रतिक्रिया दिएका थिए । यसवाहेक टर्की र पोल्याण्डले पनि रुसको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिक्रिया दिएका छन् ।

चीन भने अस्पष्ट
चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेन संकट र विकसित भएको पछिल्लो परिस्थितिबारे चीनको पोजिसन तटस्थ भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी विदेशमन्त्री ब्लिंकेनको टिप्पणी आएसँगै वाङले मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन् ।
यद्यपि उनले कुनै देशको ‘वैध सुरक्षा चासो’को सम्मान हुनुपर्ने बताएका थिए । साथै संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूलाई समर्थन गर्नुपर्ने उनको टिप्पणी थियो ।
वाङले नयाँ मिन्स्क सम्झौताको प्रभावकारी कार्यान्वयनमा ढिलाइ गरिँदा युक्रेन मुद्दाको पछिल्लो विकसित अवस्था उत्पन्न भएको बताए । तर चीनले यस मामिलामा सम्बन्धित सबै पक्षसँग सम्पर्क जारी राख्ने वाङले बताएका छन् ।

हामी अझै वार्ताका लागि तयार छौँ : मस्को
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभा । तस्बिर : रुसी समाचार स‌ंस्था तास
दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिइसकेपछि रुस र पश्चिमी मुलुकहररूबीच तनाव बढिरहेको छ । तर मस्कोले भने अझै आफू अमेरिकासँग वार्ताका लागि तयार रहेको जनाएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पछिल्लो निर्णयले वार्ता प्रभावित नहुने बताएकी हुन् ।
‘जतिसुकै जटिल परिस्थितिमा पनि हामी कुराकानीका लागि तयार छौं,’ उनले भनिन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रुसी समकक्षी सेरगेई लाभरोभबीच हुने भनिएको बैठक प्रभावित नहुने पनि उनको भनाइ छ । ‘हाम्रो पोजिसन उस्तै छ, हामी कुराकानीका लागि तयार छौं,’ उनले भनिन् । ‘हामी सधैं कूटनीतिक संवादको पक्षमा छौं,’ उनले अगाडि भनेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here