नेपाल र पाकिस्तान बिच टि -२० मैत्रीपुर्ण प्रतियोगिता हुने

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूह विभाजन गरी सञ्चालन गर्ने जनाएको छ । जसअन्तर्गत समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन्स क्रिकेट क्लब रहेका छन् भने समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए समावेश छन् ।

यस्तै समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन । चार समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिता दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ सो खेल प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए ।

यस्तै नेपालको तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेको नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटले अनुभव संगाल्ने मौका भएको बताए ।
धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक पनि गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान दूतावासले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here