आगामी ३ दिनको मौसम पूर्वानुमान; भारी वर्षासहित असिना र हिमपातको सम्भावना

काठमाडौ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका जारी गरेको मौसम बुलेटिनमा पश्चिमी  वायुको प्रभावले विभिन्न प्रदेशमा असिनासहित भारी वर्षा र हिमपातको सम्भावना समेत रहेको जनाएको छ।
 
बुधबार दिउँसो  प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहीबार पहाडी भु-भाग तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग/ असिनासहित मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here