सत्तापक्ष दलहरु गठबन्धन जोगाउनमै केन्द्रित

काठमाण्डौ । स्थानीय तहको निर्वाचनको मिति तोक्ने बिषयमा फरक स्वार्थ भएपनि सत्तारुढ दललाई मुख्य चिन्ता त्यही कारणले गठबन्धन नटुटोस् भन्ने देखिन्छ । त्यसैले जेठमा स्थानीय तहको चुनाव गरेर भए पनि सहकार्य कायम राख्ने पक्षमा गठबन्धन छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा पनि मिलेरै एमालेलाई हराएका सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चासो गठबन्धन टिकाउनेमै छ । 

कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत देखिए पनि संस्थापनलाई भने गठबन्धनबिनै मैदानमा उत्रिदा पुनः कम्युनिष्टहरु मिल्ने र सत्ताको नेतृत्व गुम्ने भय छ । एकीकृत समाजवादीलाई आफ्नो संगठन संरचना कमजोर भएकोले साहारा चाहिएको छ।  माओवादी केन्द्र आफ्नो अस्तित्व जोगाउँदै एमालेको सेखी झार्नुपर्ने पक्षमा देखिन्छ । जनता समाजवादी पार्टी पनि एक्लै चुनावमा होमिने मनस्थितिमा छैन् । सत्ता गठबन्धन दलहरु एमालेसँग प्रतिशोध लिन एकमत जस्तै छन् । 

सत्तारुढ दलको दरिलो गठबन्धनले नेकपा एमालेलाई पनि झस्काएको छ । राष्ट्रियसभाको निर्वाचन परिणाम पनि त्यसको एक कारण हो । त्यसैले अहिले सकभर सत्ता गठबन्धनलाई टुटाउने त्यो नभए विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र अरु शक्तिलाई समेत आफूतिर तानेर एमालेले अलग्गै गठबन्धन बनाउन  खोजेको छ । 

अगामी चुनावपछिको सत्ता सुरक्षित गर्ने दाउमा रहेका दलहरू गठबन्धनको मोहमा लागेपछि राष्ट्रिय मुद्दाहरू भने आझेलमा परेका छन् । दलहरूको ध्यान विवादित मुद्दा सल्टाउने भन्दा गठबन्धन जोगाउनमै केन्द्रित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here