बेलायतले शून्य लागतमा १० हजार नेपाली नर्स लैजाने; पहिलो चरणमा २ सय लैजाने

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले १० हजार नर्सको माग आएको बताए ।
साथै, मन्त्रालयले बेलायतमा नर्स पठाउनका लागि छलफल तथा अन्य प्रक्रिया अगाडि बढाइरहेको उनको भनाइ छ ।
बेलायत सरकारले विभिन्न देशबाट १ लाख नर्स लैजाने योजना अघि सारेको छ । त्यसमध्ये नेपालबाट पनि नेशनल हेल्थ प्रोग्राममा १० हजार नर्सको माग आएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार यसका लागि अध्ययन गर्न शुरु भइसकेको छ ।
‘मन्त्रायलले रोजगार शाखाको प्रमुख अध्यक्षतामा बेलायती दूताबास, परराष्ट्र मन्त्रालयको सहभागितामा अध्ययन गर्ने कमिटी गठन भएको छ । सोही कमिटीले अध्ययन गरिरहेको छ,’ उनले भने ।
मन्त्रालयले जीटुजीमार्फत् नर्स पठाउने तयारी गरेको हो । बेलायत सरकारले पठाएको चिठीमा नर्सलाई शून्य लागतमा लैजाने भनिएको प्रवक्ता घिमिरेले बताए । तर, औपचारिकरुपका कुन मोडलमा शून्य लागत भन्ने अझै स्पष्ट भइसकेको छैन ।
बेलायत सरकारले अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने बताए पनि सरकारलाई पठाएको पत्रमा भने आम्दानी उल्लेख नगरिएको घिमिरेको भनाइ छ ।
साथै, कमिटीले छिटोभन्दा छिटो कार्य अगाडि बढाएमा छिट्टै रोजगारीमा पठाउन सकिने घिमिरेको भनाइ छ ।
बेलायतले पहिलो पटक विदेशी मुलुकबाट नर्सको माग गरेको हो । त्यसमा नेपाल सरकारले पहिलो चरणमा २ सय जना पठाउने तयारी गरेको छ । साथै, बिस्तारै विभिन्न चरणमा १० हजार नर्स लैजाने गरी प्रक्रिया अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here