नेपाल सिमेन्ट र छडमा आत्मनिर्भर, बिदेशी बजारको निम्ति सरकारले सहुलियत दिनु पर्ने

    
 

काठमाडौ । भूकम्पपछि भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै सिमेन्ट र डन्डीको माग बढ्दो छ। तर, माग जति बढे पनि स्वदेशी उत्पादनले धानिरहेको छ। बरु यस्ता उत्पादन विदेश निर्यात गर्न सक्ने अवस्थामा पुगेको उद्योगी बताउँछन्। 

सिमेन्ट माग वार्षिक १ करोड ३४ लाख मेट्रिक टन छ। उद्योगको क्षमता २ करोड ३० लाख मेट्रिक टन पुगेको उद्योगी बताउँछन्। सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गरे निर्यात गर्न सक्ने अवस्था देखिन्छ। 
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बजारलाई चाहिनेभन्दा दुई गुणा बढी उत्पादन गर्ने क्षमता भएको बताउँछन्। विदेशबाट आयात गर्नु नपरेको अध्यक्ष थापाको भनाइ छ। 
‘बजारमा माग पनि राम्रै छ। हामीसँग २ करोडभन्दा बढी अर्थात् २ करोड ३० लाख मेट्रिक टनको क्षमता छ’, थापा भन्छन्, ‘अब हामी निर्याततर्फ कोसिस गरिरहेका छौं। सरकारले केही सहुलियत दिए निकासीमा पनि सहज हुन्थ्यो।’

गुणस्तरमा पनि हामी अब्बल छौं । यसैले निर्यात गर्न सक्षम छौं । तर, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सरकारले हामीलाई सहुलियत दिनुपर्छ। 
– ध्रुव थापा, अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

बजारमा खपत गरी १ खर्ब ५० अर्ब रुपैयाँबराबरको निर्यात गर्न सक्ने क्षमता भएको उनी बताउँछन्। तर, मागभन्दा बढी उत्पादन गरिएको छैन। निर्यात गर्न अरू मुलुकसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ। 
बजारमा खपत गरी १ खर्ब ५० अर्ब रुपैयाँबराबरको निर्यात गर्न सक्ने क्षमता भएको उनी बताउँछन्। तर, मागभन्दा बढी उत्पादन गरिएको छैन। निर्यात गर्न अरू मुलुकसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ। 
‘गुणस्तरमा पनि हामी अब्बल छौं। भारतीय सिमेन्टभन्दा हाम्रो मापदण्ड माथिल्लो स्तरको छ। यसैले निर्यात गर्न सक्षम छौं’, उनी भन्छन्, ‘तर, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सरकारले हामीलाई सहुलियत दिनुपर्छ। यसबारे छलफलमा पनि जुटेका छौं।’ केही विदेशी कम्पनीले विदेशबाटै सिमेन्ट ल्याउने भनी सम्झौता गरेबाहेक अब आयात गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ।

यस्तै, बजारमा १४ लाख मेट्रिक टन डन्डीको माग छ। उद्योगहरूले मागभन्दा धेरै ३५ देखि ४५ प्रतिशतसम्म स्वदेशमै डन्डी उत्पादन गरिरहेका छन्। व्यवसायीका अनुसार डन्डी उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्था सिर्जना भएको छ।
आर्थिक वर्ष २०७४/७५ मा ३२ लाख मेट्रिक टन सिमेन्ट खपत भएको थियो। २०७५/७६ मा ६९ लाख र २०७६/७७ मा १ करोड मेट्रिक टन पुगेको थियो। हालको माग वार्षिक १ करोड ३४ लाख मेट्रिक टनसम्म पुगेको भन्सार विभागको अध्ययनले देखाएको छ। सिमेन्ट उद्योगको वार्षिक कारोबार १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको छ। यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४.७९ प्रतिशतको योगदान पुगेको विभागले जनाएको छ। 
विभागका अनुसार उद्योगको कुल क्षमता २ करोड मेट्रिक टन छ। ६५ उद्योगले उत्पादन गरिरहेका छन्। उद्योग विभागमा १ सय १४ वटा दर्ता छन्। सिमेन्टको कच्चापदार्थ क्लिंकर अर्थात चुनढुंगा उत्पादन गर्ने उद्योग साना–ठूला गरी २१ वटा पुगेका छन्।
विभागका अधिकारी भने उत्पादन क्षमता राम्रै भए पनि निर्यात गर्न सम्भव नरहेको बताउँछन्। भारतमा प्रतिबोरा ३ सय भारुमा नेपालकै गुणस्तरको पाइने भएकाले प्रतिस्पर्धा गर्न नसकिने ती अधिकारीको भनाइ छ। 

सरकारले सिमेन्ट उद्योगलाई खानी पहुँचमार्ग बनाएर प्रोत्साहन गर्दै आएको छ। विद्युत् प्रसारण लाइनमा पनि उद्योगले सहयोग पाउँदै आएका छन्।
सरकारले २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यात वस्तुका रूपमा विकास गर्ने घोषणा गरेको थियो। खानी तथा भूगर्भ विभागले सिमेन्ट र क्लिंकर उद्योगमा लगानी र निर्यातको प्रचुर सम्भावना रहेको बताएको छ। चुनढुंगा र क्लिंकरमा पनि मुलुक आत्मनिर्भरतर्फ उन्मुख भएको उद्योग विभागका शाखा प्रमुख कृष्ण खरेल बताउँछन्। ‘पहिला क्लिंकर आयात गर्नुपथ्र्यो, अहिले पर्दैन’, खरेल भन्छन्। 
तर, ठूला परियोजना जलस्रोत, पुल, सडकलगायतमा बाहिरबाटै आयात गर्न सकिने भनेर ल्याउने गरेको खरेल बताउँछन्। नत्र अरू क्षेत्रलाई सिमेन्ट आयात भएको छैन। उक्त प्रयोजनका लागि चालू आवको ४ महिनामा सिमेन्ट १३ करोड ६७ लाख र क्लिंकर २० करोड रुपैयाँबराबरको मात्रै आयात भएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ। यो एकदम न्यून भएको केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंको भनाइ छ। उनका अनुसार नेपालमा उत्पादन कम हुने बेला अर्बौंको सिमेन्ट आयात हुन्थ्यो। अहिले घटेकाले यत्तिको आयात नगन्य भएको उनको भनाइ छ। 

नेपाल राष्ट्र बैंकले गत जेठमा गरेको एक अध्ययनले वार्षिक रूपमा १५ लाख ६० हजार मेट्रिक टन सिमेन्ट आयात भएको देखाएको थियो। यसलाई कटौती गर्न क्षमताअनुसार नै उत्पादन गर्न उसले सुझाएको थियो।
युनाइटेड सिमेन्ट उत्पादन गर्दै आएको केएल दुगड ग्रुपका ब्रान्ड प्रबन्धक सुवास खतिवडा सिमेन्टमा आत्मनिर्भर भएको बताउँछन्। यो उद्योगको मात्रै उत्पादन क्षमता दैनिक १ हजार २ सय मेट्रिक टन छ। उनका अनुसार अहिले मागभन्दा पनि बढी आपूर्ति भएको छ। ‘यसकारण बजारलाई जति पनि धान्न सकिन्छ। आजभन्दा ५–७ वर्षअघि यो स्थिति थिएन। यसअघि माग बढी थियो उत्पादन थिएन’, उनी भन्छन्, ‘युनाइटेड सिमेन्टले आफैं क्लिंकर बनाउँछ।’ 

उद्योगको क्षमता ५ वर्षको दोब्बर माग धान्ने नेपाल राष्ट्र बैंकले पाँच वर्षभित्र सिमेन्ट माग अहिलेभन्दा दोब्बर हुने प्रक्षेपण गरेको छ। ठूला पूर्वाधार आयोजना निर्माणाधीन रहेको र नयाँ पनि कार्यान्वयनमा जाने भएकाले सन् २०२५ सम्ममा सिमेन्ट माग वार्षिक २ करोड ५८ लाख मेट्रिक टन पुग्ने बैंकको ठहर छ। केन्द्रीय बैंकले २०२०/२१ लाई आधार वर्ष मान्दै आगामी वर्षसम्ममा सिमेन्टको माग बढ्दै जाने प्रक्षेपण गरेको बताएको छ।
‘अहिले नेपालको आन्तरिक बजारमा सिमेन्टको माग झन्डै करोड मेट्रिक टन हाराहारी छ। हाल सञ्चालनमा आएका ५५ सिमेन्ट उद्योगको वार्षिक कुुल जडित क्षमता भने १ करोड ५० लाख मेट्रिक टन हाराहारी छ। तर, सबै सिमेन्टहरू उत्पादन क्षमताअनुसार सञ्चालनमा आएका छैनन्,’ नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक र सामाजिक प्रभावको अध्ययनसम्बन्धी प्रतिवेदनमा लेखिएको छ। 
केन्द्रीय बैंकले राष्ट्रिय गौरवका आयोजनाहरू, गौतम बुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन रहेको र अरू ठूला परियोजना पनि पाइपलाइनमा रहेकाले सिमेन्ट माग बढ्ने बताएको छ। पाइपलाइनमा रहेका बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो मस्र्याङ्दी जलविद्युत् (दोस्रो), कालीगण्डकी गर्ज, आँखु खोला जलविद्युत्जस्ता आयोजनाहरूका कारण पनि आगामी वर्षहरूमा सिमेन्टको माग बढ्ने देखिएको छ।

सिमेन्टलाई चाहिने क्लिङ्कर अर्थात् चुनढुंगा अझै आयात हुँदै छ। तर, अब यसमा पनि मुलुक पूर्ण आत्मनिर्भर हुने अवस्था देखिएको केएल दुगड ग्रुपका ब्रान्ड प्रबन्धक खतिवडा बताउँछन्। उनका अनुसार क्लिङ्कर बनाउने ठूला उद्योग प्रत्यक्ष वैदेशिक लगानीमा आउँदै छन्। यसो भएपछि यहाँका उद्योगले कच्चापदार्थ आयात गर्नुपर्दैन। 

उदयपुर कटारीबाट चुनढुंगा उत्खनन् गर्न लागेको सौर्य सिमेन्टले ५० वर्षसम्म कच्चा पदार्थ पुग्ने बताएको छ। शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीको उद्योगले कच्च पादर्थ जोहोका लागि खानी उत्खनन् सुरु गर्न लागेको हो।
कम्पनीले चुनढुंगा उत्खनन् गर्ने प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि स्थानीयवासीसँग राय लिन थालेको हो। कम्पनीले त्यहाँबाट दैनिक ४८ सय मेट्रिक टन चुनढुंगा उत्खनन् गर्ने बताएको छ। उक्त चुनढुंगा सौर्य सिमेन्टको सिरहा मिर्चैयास्थित उद्योगसम्म ढुवानी गरिने भएको छ। 
सौर्य सिमेन्ट १० महिनाअघि नै बजारमा आइसकेको छ। सिमेन्ट उद्योग १५ अर्ब रुपैयाँमा खोलिएको हो। कटारीमा रहेको चुनढुंगा उद्योबाट ५० वर्षसम्म पुग्ने कच्चा पदार्थ उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
उदयपुरको चुनढुंगा र यी सबै प्रविधिले गर्दा सौर्य सिमेन्ट गुणस्तरमा अहिलेसम्म सबैभन्दा राम्रो रहेको दाबी कम्पनीका दिवस देवकोटा गर्छन्। ‘हाम्रा ५ प्रकारका सिमेन्ट छन्। एउटा ४३ ग्रेडको, एउटा ५३ ग्रेडको र पीएससी। अहिले तत्काललाई ४३, ५३ र पीएससीको नेपाल गुणस्तर (एनएस) लिएर बजारमा काम गर्न सुरु गरेका छौं’, उनी भन्छन्, ‘हाम्रो तुरुन्तै पीपीसी र लो अल्काली सिमेन्ट बजारमा आउँदै छ। यसले गर्दा पनि हाम्रो गुणस्तरमा छुट्टै साइलोहरूले दूषित कम गराउने सिस्टम जडित छ। यसले सिमेन्टहरूमा एकरूपता ल्याउने काम गर्छ।’ चुनढुंगा खानीबाट बाहिर उद्योगबाट उत्पादन ननिस्केसम्म रोबोटिक ल्याबको निगरानीमा गुणस्तर मापन भइरहेको उनको भनाइ छ। 
खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा ७ हजार वर्ग किलोमिटरमा चुनढुंगा छ। उक्त क्षेत्रफलमा रिजर्भ चुनढुंगाको परिमाण १ अर्ब ५० करोड टन रहेको अनुमान गरिएको छ। विभागले यसमध्ये आधा अर्थात् ७५ करोड टन चुनढुंगा खानी भने प्रमाणित गरिसकेको छ। चुनढुंगा सिमेन्टको प्रमुख कच्चापदार्थ हो। यसैबाट क्लिङ्कर बनाइन्छ र अनि क्लिङ्करबाट सिमेन्ट उत्पादन गरिन्छ। क्लिंकर मात्रै उत्पादन गर्ने कम्पनी डेढ दर्जन पुगेका छन्। सञ्चालनमा रहेका ६५ सिमेन्ट उद्योगमध्ये अधिकांशले आपैmं उत्पादन गरेको क्लिंकर प्रयोग गर्छन्। बाँकीले आयात अर्थात किन्दै आएका छन्। युनाइटेड, जगदम्बा, सौर्य, शिवम्, अर्घाखाँची, पाल्पा, नेपाल शालिमारलगायत कम्पनीले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्छन्।