भारतबाट फेरि दैनिक ३ हजार मेगावाट आवरसम्म विद्युत् आयात

मंसिर – २८ । केही समयअघिसम्म भारतलाई बिजुली बेचिरहेको नेपालले अहिले फेरि आयात गर्न थालेको छ । नेपालले गत बिहीबारदेखि भारतबाट बिजुली किन्न थालेको हो ।

‘प्रतिदिन २ हजार ५ सय मेगावाट आवरदेखि ३ हजार मेगावाट आवरसम्म बिजुली भारतबाट आउन थालेको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘अहिले बिहान–बेलुकाबाहेक दिउँसो र राति अफ पिकको समयमा बिजुली किनिरहेका छौं ।’ अहिले भारतबाट औसत प्रतियुनिट ५ रुपैयाँ २ पैसा (३.१४ भारतीय रुपैयाँ) मा बिजुली किनिरहेको प्राधिकरणले जनाएको छ । यसअघि नेपालले भारतलाई बिजुली बेच्दा भने औसत मूल्य प्रतियुनिट ४ रुपैयाँ २० पैसा मात्र पाएको थियो ।
नेपालले गत कात्तिक १७ देखि ‘डे अहेड मार्केट’ को अवधारणामा भारतीय बजारमा बिजुली बेच्न थालेको थियो । त्रिशूली र देवीघाट दुई आयोजनाबाट ३९ मेगावाट बिजुली भारतमा गइरहेकामा आन्तरिक उत्पादनले नेपालभित्रकै माग धान्न नसकेपछि बिक्री रोकिएको हो । प्राधिकरणले उपलब्ध गराएको विद्युत् माग र आपूर्ति व्यवस्थापनसम्बन्धी विवरणअनुसार आइतबारको कुल विद्युत् माग १ हजार ५ सय ५० मेगावाट बराबर छ ।
आपूर्तिको अवस्था हेर्दा प्राधिकरणको आफ्नै उत्पादन ५ सय ३९ मेगावाट, प्राधिकरणअन्तर्गतका कम्पनीको उत्पादन ३ सय ८७ मेगावाट र निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूबाट ४ सय २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसरी अहिले नेपालभित्रकै विद्युत् उत्पादन १ हजार ३ सय ५१ मेगावाट बराबर मात्रै छ । जब कि माग भने उत्पादनभन्दा २ सय मेगावाट बढी छ ।

गतवर्षको यही समयमा नेपालको कुल विद्युत् माग १ हजार ३ सय मेगावाट बराबर मात्रै थियो । आइतबार मात्र नेपालले भारतबाट २ हजार ८ सय ९५ मेगावाट आवर (१ सय ९८ मेगावाट) बिजुली किनेको छ । गत वर्ष यही समयमा नेपालले भारतबाट ६ हजार ४ सय ८५ मेगावाट आवरसम्म विद्युत् आयात गरेको प्राधिकरणको तथ्यांक छ । अहिले प्राधिकरणको प्रणालीबाट कुल २७ हजार मेगावाट आवर विद्युत् प्रवाह भइरहेकामा भारतबाट आयातित बिजुलीको हिस्सा १० प्रतिशत बराबर हो । आइतबार काठमाडौं उपत्यकामा मात्र ३ सय ७२ मेगावाट बराबर विद्युत् लोड रहेको प्राधिकरणले जनाएको छ ।
सुक्खायाममा खोला नदीहरूमा पानीको बहाव परिवर्तन हुने भएका कारण विद्युत् उत्पादन पनि घट्ने गर्छ । तर यही बेला माग भने अत्यधिक बढ्छ । अहिले विद्युत् बढी खपत हुने (पिकआवर) मा कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन भइरहेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए । यस वर्ष माथिल्लो तामाकोसी, तल्लो मोदीखोला, तल्लो जोगमाई खोला र लिखु–४ जलविद्युत् आयोजना प्रसारणलाइनमा जोडिएपछि माग धान्न प्राधिकरणलाई केही सहज भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगलाई उपलब्ध गराएको विवरणअनुसार गतवर्षको तुलनामा यस वर्ष भारतबाट १ अर्ब २५ करोड ३९ लाख ७६ हजार किलोवाट घण्टा कम विद्युत् आयात हुनेछ, जुन गतवर्षको तुलनामा करिब ९ अर्ब रुपैयाँ कम हो । गत आर्थिक वर्षमा प्राधिकरणले भारतबाट २१ अर्ब ३९ करोड ४४ लाख ८५ हजार रुपैयाँ बराबरको २ अर्ब ८२ करोड ६२ लाख ९ हजार युनिट बिजुली आयात गरेको थियो । तर चालु आर्थिक वर्षमा भने १२ अर्ब ४० करोड १८ लाख ४९ हजार रुपैयाँ बराबरको मात्रै विद्युत् आयात हुने प्राधिकरणको अनुमान छ । उसका अनुसार यस वर्ष १ अर्ब ५७ करोड २२ लाख ३३ हजार युनिट विद्युत् मात्रै आयात हुनेछ । ( kantipur.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here