बागमती प्रदेशका जसपाका एक मात्र सांसद प्रेम तामाङ कांग्रेस प्रतिनिधिमा चुनिए !

    रसुवा । जसपाका बाग्मति प्रदेश सभा सदस्य प्रेम तामाङ्ग काङ्ग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । तामाङ रसुवा क्षेत्र नम्बर १ बाट निर्वाचित साम्सद हुन् ।
    हालै उनी रसुवाबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । अर्थात्, जसपाका सांसद, कांग्रेसको महाधिवेशन प्रतिनिधि । कांग्रेसकै झण्डामुनि आगामी प्रदेशसभा चुनाव लड्ने तयारीमा छन् उनी ।

    यो कुरा उनी स्वयम्‌ले बाहिर बोलेका छैनन् तर भित्रभित्र उनी कांग्रेसी राजनीतिमा समाहित भइसकेका छन् ।
    यसबारे जिज्ञासा राख्दा तामाङ बोल्न चाहेनन् । भने, ‘यो विषयमा अहिले म बोल्न चाहन्नँ । बोल्नुपरे पनि पछि बोलौँला ।’ जसपाको कारबाहीमा परिने डरले कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएको कुरा उनले गोप्य नै राखेका छन् ।
    मंगलबार सदरमुकाम धुन्चेस्थित एक पानी फ्याक्ट्रीको हलमा महाधिवेशन प्रतिनिधिहरूको घोषणा गर्दा मुख्य निर्वाचन अधिकृत शर्मिला थापाले प्रेम तामाङको नाम पनि लिएकी थिइन् । तर, प्रमाणपत्र लिन भने प्रेम त्यहाँ गएनन् ।
    रसुवा कांग्रेसका बागमती सांसद प्रभात तामाङले प्रेम तामाङ कांग्रेस प्रवेश गरिसकेको र पार्टीको महासमिति सदस्य रहेको पुष्टि गरे ।
    प्रेम तामाङ तिनै नेता हुन्, जो २०७४ सालको चुनावमा संघको टिकट त्यागेर प्रदेशसभामा ओर्लेका थिए । त्यो बेला उनलाई बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले संघको टिकट दिएको थियो । तर, कांग्रेसका उम्मेदवार मोहन आचार्यलाई प्रतिनिधिसभा छोडेर उनी प्रदेशसभाको उम्मेदवार बने ।
    नयाँ शक्तिले केही क्षेत्रमा कांग्रेससँग चुनावी गठबन्धन गरेको थियो । गोरखा-२ बाट बाबुराम आफैँ चुनाव लड्दै थिए । रसुवामा जनाधार राम्रो भएकाले प्रेम तामाङलाई भट्टराईले संघको टिकट दिएका थिए । तर, अन्तिम समयमा तामाङ
    प्रदेशमा ओर्लिनुलाई बाबुरामले पैसाको चलखेलको संज्ञा दिएका थिए । पछि नयाँ शक्ति संघीय समाजवादीमा मिल्यो अनि संघीय समाजवादी अन्य पार्टीमा मिलेर जसपा बनेको छ । बागमती प्रदेशमा जसपाका एक मात्र सांसद प्रेम तामाङ नै हुन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here