भारत बाट भित्रीएको प्रदुषित वायु सँगै नेपालमा पनि बढ्यो वायु प्रदुषण;भिजिबिलिटी समेत घट्दो

मंसिर – ८ । सीमापारि भारतका विभिन्न स्थानबाट नेपालमा वायुसँगै भित्रिएको प्रदूषणसमेत मिसिएपछि वायुमण्डल धुम्मिन थालेको छ ।

केही दिनदेखि हावाको गति कमजोर बनेपछि काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । यसले गर्दा आकाश धुम्मिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थेग्रिएर बसेको बताए ।

‘यो हट्न कि पश्चिमी वायुको गति बढ्नुपर्छ कि वर्षा हुनुपर्छ,’ उनले मंगलबार कान्तिपुरसित भने, ‘पश्चिमतिरबाट कमजोर प्रणाली भित्रिँदै छ । त्यसले हल्का वर्षा गरायो र हावाको गति बढायो भने तैरिएर बसेको प्रदूषण हट्छ र आकाश सफा हुन सक्छ ।’
काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) केही दिनयता बढ्दै गएको छ । मंगलबार विराटनगर र सिमरामा एक्यूआई ह्वात्तै बढेको छ । मंगलबार साँझ विराटनगरको एक्यूआई प्रतिघण्टा ३०८ र सिमराको २१६ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई २०१ नाघे त्यो क्षेत्रलाई अस्वस्थकर मानेको छ । उसले एक्यूआई ३५ लाई स्वस्थ, २०१–३०० लाई अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानेको छ ।
केही दिनदेखि काठमाडौंसहित तराईका विभिन्न स्थानमा भिजिबिलिटीसमेत घट्दो छ । मौसमविद् प्रधानका अनुसार मंगलबार काठमाडौंको भिजिबिलिटी ५ किलोमिटर थियो । जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसमेत रहेका पूर्वसचिव ऋषिराम शर्मा चिसोको मात्रा बढेसँगै हावाको वेग घट्ने भएकाले वायुमण्डलमा प्रदूषण तैरिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘हावा पनि नचल्ने र वर्षा पनि नभएका बेला प्रदूषण जहाँको त्यहीं तैरिएर बसेको हुन्छ,’ उनले भने, ‘एक–दुई दिनयता काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भएको त्यही हो ।’ पहाडी र हिमाली भागको वायुमण्डलमा भने प्रदूषणको मात्रा बढेको छैन, आकाश पनि सफा छ ।

हिउँदमा तराई र अन्य भागमा कृषि बाली भित्र्याएपछि घाँस पलाउने लोभमा आगो बाल्ने परम्परा कायमै हुँदा त्यसको असर वायुमण्डलमा परेको शर्मा बताउँछन् । ‘सुक्खायाममा त्यो पनि हावा नचलेका बेला प्रदूषण थपियो भने वायुमण्डल स्वत: धुम्मिन्छ,’ शर्माले भने । गत वर्ष पनि वायुमण्डलमा अत्यधिक प्रदूषण बढेर आँखा पोल्ने र दिउँसै अँध्यारो भएपछि सरकारले विद्यालय नै बन्द गरेको थियो ।
त्यो बेला काठमाडौंसहित देशका विभिन्न भागको वायु गुणस्तरले जोखिम र घातक तह नाघेको थियो । वातावरण विभागका विज्ञ शंकरप्रसाद पौडेलले यो वर्ष भने वायुको गुणस्तर सूचकांक गत वर्षजस्तो नभएको बताए । ‘विराटनगर र सिमरामा बाहेक अन्यत्र प्रदूषणको मात्रा अस्वस्थ छैन,’ उनले भने । तर, सीमा जोडिएको दक्षिणी भागबाट प्रदूषण भित्रिरहेकाले नेपाली आकाशमा त्यसको असर देखिन थालेको उनले बताए । ‘यो हट्नका लागि पश्चिमतिरबाट द्रुत गतिको वायु चल्नुपर्छ,’ उनले भने ।

मंगलबारको एक्यूआई (प्रतिघण्टा)
विराटनगर– ३०८
सिमरा– २१६
पोखरा– १९८
धनकुटा– १७६
त्रिवि परिसर– १६४
धनगढी– १६३
रत्नपार्क– १५६
भक्तपुर– २५
जनकपुर ९१
हेटौंडा– ११८
शंखपार्क–७४
रारा– ५
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here