चिनियाँ कम्पनीलाई मेलम्ची पुनर्निर्माणको ठेक्का दिने तयारी

कार्तिक – २८ । अरु कम्पनीलाई दिँदा आयोजनाको संरचना बुझेर काम ढिला हुने भन्दै सिनोलाई दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान सिफारिस 

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले हेडवर्क्स र सुरुङ मर्मतको काम चिनियाँ कम्पनीलाई दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । सुरुङ र हेडवर्क्सबाहेकका कामका लागि भने टेन्डरमार्फत प्रतिस्पर्धा गराइनेछ ।

मेलम्ची खानेपानी विकास समितिको शुक्रबार बसेको बैठकले द्रुत गतिमा काम पूरा गर्ने सर्तमा सुरुङ र हेडवर्क्सको काम चीनको सिनो हाइड्रो कम्पनीलाई दिन उपयुक्त हुने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव खानेपानी मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने छ ।
समितिकी अध्यक्ष एवं खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यको संयोजनमा बसेको बैठकको सिफारिसअनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । उक्त प्रस्ताव छोटो समयमा काम पूरा गरेर पानी सञ्चालन गर्ने गरी सरकारबाट निर्णय गराउने समितिले जनाएको छ । आयोजनाको हेडवर्क्स र सुरुङ सफा गरेर काठमाडौंमा पानी ल्याउन बढीमा तीन महिना लाग्ने अनुमान प्राविधिकहरूको छ । हेडवर्क्सको संरचनालाई करिब २० देखि ३० फिट अग्लो गेग्रानले पुरेको छ ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक एवं समितिका सदस्यसचिव वासुदेव पौड्यालका अनुसार उक्त चिनियाँ कम्पनीले आयोजनाको हेडवर्क्स र सुरुङ निर्माणको काम गरिरहेको छ । नयाँ टेन्डरमार्फत नयाँ कम्पनी छनोट गर्दा प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भएपछि समितिले उक्त सिफारिसको तयारी गरेको हो । २०७५ पुसमा इटालियन कम्पनी (सीएमसी) सम्झौता तोडेर आफ्नै देश फर्किएको थियो । त्यसपछि सरकारले २०७६ असोजबाट चीनको सिनो हाइड्रो कम्पनीलाई आयोजनाको हेडवर्क्स र सुरुङ निर्माणको जिम्मेवारी दिएको थियो । अहिलेको काम पनि सोही कम्पनीलाई दिने प्रस्ताव मन्त्रालय पठाउने जानकारी सदस्यसचिव पौड्यालले दिए । प्रस्तावका विषयमा सिधै वार्ता गरेर चिनियाँ कम्पनी सिनोलाई कामको जिम्मेवारी दिने निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग छ । आयोजनाका एक प्राविधिकका अनुसार मन्त्रिपरिषद्ले छोटो समय राखेर टेन्डर आह्वान गर्ने निर्णय पनि गर्न सक्छ । तर त्यसो गर्दा अर्को कम्पनीले प्रवेश पाउने अवस्था आएमा कामको जिम्मेवारी लिन लामो समय लाग्ने भनाइ प्राविधिकको छ । सुरुङ र हेडवर्क्सको काम १५ महिनामा पूरा गर्ने गरी चिनियाँ कम्पनी सिनोले नै २०७६ असोजमा सरकारसँग सम्झौता गरेको थियो । त्यतिबेला मुख्य कामबाहेकका संरचना निर्माण अन्य कम्पनीलाई दिइएको थियो । सिनो कम्पनीले काम गरिरहेको अवस्थामा गत असारमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको हो । हेडवर्क्सको संरचना माटो र ढुंगाले पुरिएको छ भने सुरुङमा लेदो पसेर क्षति गरेको छ ।

पुरिएको हेडवर्क्स सफा गरेर अस्थायी रूपमा भए पनि पानी छिटो काठमाडौं ल्याउन द्रुत गतिमा काम गर्नुपर्ने भन्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले प्राविधिकहरूलाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री चौधरीले भने, ‘काम छिटो र पारदर्शी सरकारको प्राथमिकता हो । त्यसका लागि मन्त्रिपरिषद्मा पनि छलफल भएको छ ।’
आयोजनाको भौतिक संरचना निर्माण सुरु भएको २२ वर्षपछि गत फागुनमा काठमाडौंमा पानीको परीक्षण वितरण गरिएको थियो । पहिलो पटक पानी परीक्षण सुरुङको गेट नै फुटेको थियो । दोस्रो पटक पानी प्रवेश गराएर वितरणसमेत गरिसकेको अवस्थामा बाढी आएको थियो । बाढीका कारण असारदेखि पानी वितरण रोकिनुका साथै आयोजनाको भविष्यमाथि नै प्रश्न उठिरहेको छ । सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किमि सुरुङ एवं संरचनाहरू निर्माणमा लागि करिब ३० अर्ब खर्च भइसकेको छ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण पूरा भएको छ भने मुहानको हेडवर्क्सको काम अन्तिम चरणमा पुगेका बेला बाढी आएको थियो । कार्यकारी निर्देशक पौड्यालले सुरुङको अवस्था थाहा पाएपछि मात्र क्षतिको थप विवरण आउने बताए । सुरुङ बन्द गरेकै दिन बाढी आएकाले ठूलो क्षति हुन नपाएको भनाइ आयोजनाको छ ।
आयोजना पुग्ने पक्की पुल, सडक, सुरक्षाकर्मी आवास तथा गारेटो बाटोसमेत बाढीले बगाएको छ । त्यसको मर्मत र वैकल्पिक व्यवस्था मिलाउन सरकारले तत्कालका लागि १ अर्ब विनियोजन गरेको छ । मुख्य प्रवेशमार्ग मेलम्चीदेखि मुहान क्षेत्र हेलम्बुसम्म करिब १८ किमि सडक बाढीले जीर्ण बनाएको छ । मुहानभन्दा करिब ६ किमि पूर्वपश्चिम चनौटेको रातो पुल बगाएपछि आयोजनाको मुहान क्षेत्र र हेलम्बु आउजाउमा कठिनाइ हुँदै आएको छ । चनौटेमा बेलिब्रिज निर्माण सुरु भएको छ भने हेलम्बु गाउँपालिकाको मुहानसम्म अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी सडक तयार गरेको छ ।
खानेपानी मन्त्रालयका अनुसार स्थानीय तह, सेना र ठेकेदार कम्पनीले क्षेत्रगत रूपमा काम विभाजन गरेर पुनर्निर्माण गर्ने तयारी गरिएको छ । सडक निर्माणको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिने तयारी गरिएको छ  । आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने योजना छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड गरी ५१ करोड लिटर पानी दैनिक राजधानी लैजाने योजना रहेको छ । उक्त दोस्रो चरणको आयोजानको पनि निर्माण सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here