मुख्यमन्त्री पाण्डे द्वारा कात्तिक २२ गते विश्वासको मत लिने

कार्तिक – १५ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।  गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्र पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।  मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पत्रमा १२ गते उल्लेख गरिएको छ तर संसद् सचिवालयमा भने हिजो मात्रा दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदबाट निर्णय गराई विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ताका लागि पठाएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताए ।

‘हामीले सरकार गठन भएकै दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर तिहार लगत्तैको मिति तय गरेका छौं । आगामी कात्तिक २२ गतेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको छ । त्यसैले त्यसबारेको जानकारी प्रदेश सभालाई पनि गराइसकेको छ,’ मन्त्री खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here