जि.प्र.का. धादिङको शौचालयको अवस्था दयनीय, सेवाग्राहीहरुलाई सास्ती

जिल्ला प्रशासन कार्यालय धादिङको शौचालय दुर्गन्धित भएर छिर्न नसकिने अवस्था हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सरकारी शौचालयमा पानी बोतल र वरिपरि दिसापिसाबले शौचालय फोहोरै फोहोर र दुर्गन्धित अवस्थामा भेटिएको हो । 
मंगलबार कामको सिलसिलामा धादिङ प्रशासन कार्यालयमा एक सर्वसाधारण आएका थिए । पिसाबले च्यापेपछि कार्यालयको शौचालयमा गए । तर, शौचालयको अवस्था देखेपछि ती सर्वसाधारण पिसाब नै नफेरी बाहिर निस्किए । धादिङ प्रशासनको पक्की भवनमा शौचालय भनी लेखिएको कोठाभित्र छिर्न सकेनन् । जहाँ शौचालयको अवस्था देखेर फर्किए । 
शौचालयको अवस्था यस्तो छ कि कोही पनि भित्र गएर पिसाबसम्म गर्न सक्ने अवस्था छैन । 
धादिङका सरकारी कार्यालयहरूमा रहेको शौचालयको यस्तो दुर्दशा पहिलोपटक भने पक्कै होइन् । सरकारी कार्यालयमा रहेको शौचालयको दूरावस्था देखेर ती सर्वसाधारण छक्क परेका थिए । ‘शौचालय निकै फोहोर, दुर्गन्धित मात्रै होइन भित्र छिर्न त के पाइला टेक्नसमेत नसकिएको अवस्थामा छ । सो कार्यालयमा ठूलाबडाका लागि छुट्टै शौचालयको व्यवस्था छ । सामान्य कर्मचारी र सर्वसाधारणहरूको लागि भने शौचालय त छ, तर नाम मात्रको छ । 
पक्की भवनमा रहेको महिला र पुरुष लेखिएका दुई-दुई शौचालय छन् । तर, सफा सुग्घर भने पटक्कै छैन । छ त केवल बाहिरसम्म फैलिएको दुर्गन्ध मात्रै । शौचालय प्रवेश गर्ने ढोकानजिकै पुग्ने जो कोहीलाई लाग्छ । यो कुनै शौचालय हो वा फोहोरको तलाउ । आश्चर्य त के छ भने उक्त कोठामा प्लाष्टिकका बोतल र छरपष्टै दिसाको डंगुर नै छ । जो पनि त्यहाँबाट बाहिर आउँदा नाक थुन्दै, छिःछी र दुरदुुर गर्ने अवस्था छ । शौचालय सफा नहुँदा त्यसले विभिन्न क्षेत्रमा असर पारिरहेको छ । 
यस विषयमा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग बुझ्दा अहिले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भिड बढेकाले सरसफाइ गर्न नभ्याएको स्वीकार गर्नुभयो । ‘अहिले मतदाता नामावली संकलन गर्न दैनिक १५० देखि तीन सयसम्म नागरिक आउने गरेका छन् । कार्यालयका कर्मचारीहरूलाई कामको लोड परेको छ, त्यही भएर सरसफाइ गर्न भ्याइएको छैन’, प्रजिअ लम्सालले भन्नुभयो । 
(बाबुराम श्रेष्ठ ; ehimalayatimes.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here