भूकम्पभन्दा कोरोनाले ज्यान गुमाउने बढी ; कोरोना सम्बन्धि सुरुवात देखिको सम्पूर्ण तथ्यांक सहित जानकारी

कोरोना संक्रमणबाट नेपालमा १४ महिनामा १० हजारको मृत्यु भइरहँदा यो संख्या २०७२ सालको भूकम्पले ज्यान गुमाउने भन्दापनि बढी हो । उक्त विनाशकारी भूकम्पबाट नेपालमा ८ हजार ५६७ जनाको मृत्यु भएको थियो ।
कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । अक्सिजनको हाहाकार, आईसियू बेडको अभावले पनि दोस्रो लहरमा धेरै जनाले ज्यान गुमाउन पुगेका छन् ।
त्यसैगरी कोरोनाको पहिलो लहरबाट ३८ जना बालबालिकाको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनाबाट मृत्युदर १.५ प्रतिशत रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । त्यसैगरी अफगानिस्तानमा ४.६, बंगलादेशमा १.७ र पाकिस्तानमा १.४ रहेको छ ।
बढी ज्यान गुमाउनेमा ६० वर्ष माथिका
कोरोनाबाट बढी ज्यान गुमाउनेमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरु रहेका छन् । शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने ६० माथिका ज्यान गुमाउने ५ हजार ३८७ रहेका छन् । ०–९ वर्ष सम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३०४ जना, ३० देखि ३९ का ८२८ जना, ४० देखि ४९ का १४३७ जना , ५० देखि ५९ का १९६१ जना र अज्ञात ७ जना रहेका छन् ।
‘सबै मृत्यु तथ्यांकमा नआएको हुन सक्छ’
कोरोनाको मृत्यु हुनेको संख्या यति नै हो भनेर भन्न नसकिने बताउँछन् संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी । डा. अनुप भन्छन्, ‘ हालको तथ्यांकभन्दा मृत्यु हुनेको संख्या बढी हुन सक्छ । मृत्युको आँकडाको कुरा गर्दा हामीले थुप्रै मृत्युको गणना गरेका छैनौं । मृत्युको संख्या लेखाजोखा गरिएको छैन ।’
‘संक्रमण बढेको समयमा प्राकृतिक मृत्यु भएका मान्छेको पीसीआर परीक्षण गर्नु नपर्ने नियम बनाएको थियो सरकारले । कतिपय ठाउँमा पीसीआर उपलब्ध पनि थिएन । अरु बेला औसतमा कति मृत्यु हुन्थ्यो र यसपालि कोरोनाले कति मृत्यु भयो भनेर अध्ययन जरुरी छ,’ उनले भने ।
उनका अनुसार संक्रमण भइसकेपछि मानिसहरुलाई मृत्युबाट बचाउन ढिलो हुन्छ । अक्सिजन र औषधि दिँदा दिँदै पनि निश्चित प्रतिशतको मृत्यु हुन्छ त्यो घटाउन गाह्रो हुन डा. अनुपको भनाइ छ ।
उनले मृत्युबाट जोगाउन सजिलो उपाय संक्रमण नै हुन नदिने रहेको बताउँछन् । संक्रमितहरुको जति सक्दो पत्ता लगाउने, ट्रेसिङ तथा आइसोलेट र क्वारेन्टाइन गर्ने कुरामा बढी केन्द्रित हुनुपर्ने कुरामा जोड दिन्छन् । भीडभाड कम गर्ने, सबैले उच्च गुणस्तरको मास्क लगाउने, जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरुन् भनेर प्रोत्साहित गर्ने र खोप अभियानमा ध्यान दिए महामारी नियन्त्रणसँगै त्यसबाट मृत्यु हुने जोखिम घट्ने उनको धारणा छ ।
पहिलोपटक (डिसेम्बर ३१ २०१९) मा कोरोना पुष्टि भएको चीनमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६३६ जनाले ज्यान गुमाएका छन् । बायोमेड सेन्ट्रल डटकममा प्रकाशित एक अध्ययनका अनुसार चीनले छिटो कोरोना नियन्त्रण गर्नका लागि केसको पहिचान गर्ने, कडा क्वारेन्टाइन तथा फलोअप राख्ने, अस्पतालको व्यवस्थापन, आवश्यक स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मीको परिचालनमा बढी जोड दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here