सुदूरपश्चिमका २ लाख जना दोस्रो डोज खोपको प्रतीक्षामा

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८ जनाले दुबै डोज लगाएका छन् । २ लाख ६ हजार ५८७ जना दोस्रो डोजको प्रतीक्षामा रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार ६५ वर्षमाथिका एक लाख ६७ हजार दुई सय तीन जना ६५ वर्ष भन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा पाउन सकेका छैनन् । ६२ देखि ६४ वर्षसम्मका ३८ हजार ७ सय सात सय १३ जनालाई भेरोसेलको पहिलो डोज लगाइएको छ । उनीहरु पनि दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३७ हजार ९ सय ६ जनालाई कोभिशिल्ड र सात सय ८२ जनाले भेरोसेल खोपको दुबै डोज लगाएका छन् ।

प्रदेशको राजधानीसमेत रहेको कैलालीमा १२ हजार ६ सय ४४, कञ्चनपुरमा पाँच हजार १३७, डोटीमा चार हजार ७६, अछाममा तीन हजार तीन ६७ जना, दार्चुलामा तीन हजार दुई सय ४३ जनाले दुवै डोज खोप लगाएका छन् । त्यस्तै बैतडीमा तीन हजार ११६, बझाङमा दुई हजार ८१९, डडेल्धुरामा दुई हजार ४११ र बाजुरामा एक हजार ८०२ जनाले दुवै मात्रा खोप लगाएका निर्देशनालयको तथ्यांक छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका प्रवक्ता नरेन्द्र कार्कीले संघीय सरकारले तोकेअनुसार प्रदेशमा खोप अभियान चल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here