काठमाडौ । जुम्लामा जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँच जना बिरामी भएका हुन् ।
बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामकाे सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका ९ राेकायाबाडाका लालबहादुर राेकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
हमाल परिवारले आइतबार साँझ जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । स्थानीय यज्ञप्रसाद चाैलागाईंका अनुसार बिरामीले रिँगटा लाग्ने र बान्ता हुने गरेपछि राति नै अस्पताल पठाइएको थियो । लक्ष्मीबहादुर र छोरी सम्झौताले बोल्न छाडेपछि राति नै अस्पताल ल्याइएको थियो । अहिले सम्झौताबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रहरीले जङ्गली च्याउको जथाभाबी सेवन नगर्न आग्रह गरेको छ । जङ्गलमा कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।