प्रचण्ड र चिनियाँ नेताबीच भेटवार्ता: यस्ता बिषय बस्तुहरुमा भए छ्लफल

काठमाडौ । चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गर्दै यस्तो सन्देश दिएका हुन्।
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको कुरा लिउले राखेको भेटमा सहभागी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए।
लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई खुमलटार निवासमै पुगेर सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो भेट गरेको थियो।
जवाफमा प्रचण्डले नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएको पुनले बताएका छन्।
प्रचण्डले केही सामाजिक मुद्दा पनि चिनियाँ नेतासँग उठाएका थिए। ‘हाम्रो अध्यक्षले कतिपय सहयोग गर्नुपर्ने विषयमा ठोस रुपमा ध्यानाकर्षण गराउनु भयो’, उनले भने, ‘चीनमा पढ्न गएका चिकित्सा स्वास्थ्य क्षेत्रका विद्यार्थीको बाँकी समस्या समाधानको कुरा उठाएका छन्।
प्रचण्डले भेटमा अरनिको राजमार्ग र केरुङ नाकामा अवरोध भइरहेको भन्दै नियमित सञ्चालनका लागि सहजीकरणमा अनुरोध गरेको श्रेष्ठले बताए।
 प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको भेटमा बताएका थिए। चीनले नेपाललाई भूकम्प र कोभिड महामारी नियन्त्रणमा गरेको सहयोगका लागि प्रचण्डले धन्यवाद दिएका थिए।
‘नेपाल चीनसँग व्यापार घाटामा छ, त्यो घटाउनुपर्छ। ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्छ,’ लिउसँग प्रचण्डले भने।
‘उहाँहरुले पार्टी एकतामा जोड दिन्छौँ भन्नुभएन’, माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भेटवार्तापछि भने, ‘राजनीतिक पार्टीले एकतावद्ध भएर राष्ट्रियताको रक्षा गरेकोमा खुशी हुन्छौँ भन्नुभयो।’
भेटका क्रममा लिउले नेकपा माओवादी केन्द्र र नेपालका सबै राजनीतिक दल तथा सरकारलाई एक चीन नीतिप्रति प्रतिवद्धता जनाएकोमा आभार व्यक्त गरेका थिए। उनले नेपालको विकास प्रक्रियामा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
लिउले ​बीआरआई सम्झौताका सन्दर्भमा नेपालले ठोस रुपमा योजना छनौट गरेमा त्यसमा सहयोग गर्न तयार रहेको जनाएका छन्। त्यसक्रममा उनले नेपाल र नेपालको कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति रहेको पनि बताएका छन्।
भेटमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here