आज विश्व क्यान्सर दिवस, क्यान्सर बाट बर्सेनि नेपालमा करिब २० हजारले ज्यान गुमाउन्छ

काठमाडौ । हरेक वर्ष फेब्रुअरी महिनाको ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (यूआईसीसी)को आह्वानमा क्यान्सर दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००० मा फ्रान्सको राजधानी पेरिसमा भएको बैठकपछि क्यान्सर दिवस मनाउने निर्णय भएको थियो। त्यसपछि हरेक वर्ष फेब्रुअरी ४ मा दिवस मनाउन सुरु गरिएको हो। क्यान्सर दिवस मनाउनुको मुख्य उद्देश्य क्यान्सरबारे जनचेतना जगाउनु नै हो। यसका साथै रोकथाम, उपचार र क्यान्सरबाट हुने मृत्युदर न्यून गर्ने नै हो।
यस वर्ष ‘उपचारमा असमानता हटाऔं’ भन्ने नारा तय गरिएको छ। तीन वर्षसम्म यही नारामा केन्द्रित रहेर यो दिवस मनाइनेछ। हाल नसर्ने रोगको प्रकोप बढेको छ। क्यान्सर, मुटु, फोक्सो, मधुमेह लगायतका रोगले धेरैलाई पिरोलिरहेको छ। विश्वका अधिकांश मुलुकमा ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगहरू भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। त्यसमध्ये कार्डियो भास्कुलर र क्यान्सरको प्रकोप बढिरहेको पाइन्छ। मुटुलगायत अन्य नसर्ने रोगको उपचार विधिमा व्यापक सुधार भएको छ। उपचारमा पहुँच पनि पुगेकाले यी रोगबाट हुने मृत्युको संख्यामा कमी आउन थालेको छ। तर, क्यान्सर रोगको उपचारमा अझै पहुँच पुगेको छैन।
क्यान्सरलगायत अन्य नसर्ने खालका दीर्घ रोगको मुख्य कारक तत्त्वहरू एकै किसिमको पाइन्छ। त्यसैले यी रोगबारे व्यापक जनचेतना फैलाउनुपर्ने खाँचो छ। धेरैजसो मुलुकमा मृत्युको पहिलो नम्बरमा क्यान्सर नै हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२० मा मात्र विश्वमा करिब १ करोड ९३ लाख क्यान्सरका बिरामी थपिएका थिए। सोही वर्ष करिब एक करोड बिरामीको मृत्यु क्यान्सरबाट भएको थियो। हरेक वर्ष मे ३१ मा विश्व धूमपान दिवस मनाइन्छ। करिब दुई तिहाइ क्यान्सरको मुख्य कारण धूमपान हो। धूमपान कम गर्न विश्व स्वास्थ्य संगठनले फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसीटीसी) ऐन पारित गर्‍यो। त्यसपछि जनचेतना बढाउने काम भयो। जसले गर्दा विश्वभरि नै धूमपान गर्नेको संख्या घट्दो छ। नेपालमा पनि धूमपान गर्नेको संख्या ३६ प्रतिशतबाट घटेर २४ प्रतिशतमा झरेको छ। फोक्सोको क्यान्सरको मुख्य कारण धूमपान मानिन्छ। हालसम्म पहिलो नम्बरमा रहेको फोक्सोको क्यान्सर दोस्रो नम्बरमा झरेको छ।

डब्लूएचओको तथ्यांकअनुसार, प्रमुख पाँचवटा क्यान्सर रोगमध्ये पहिलोमा स्तन क्यान्सर पर्छ। यसका बिरामी २३ लाख अर्थात् ११.७ प्रतिशत छन्। फोक्सोको क्यान्सर दोस्रो नम्बरमा छ। २२ लाख अर्थात् जसको प्रतिशत ११.४ छ। आन्द्राको क्यान्सर १९ लाख अर्थात् १० प्रतिशत छ। प्रोस्टेटको क्यान्सर १४ लाख अर्थात् ७.३ प्रतिशत छ। पेटको क्यान्सर भएका बिरामी ५ प्रतिशत हाराहारीमा छन्। नेपालमा पनि क्यान्सरविरुद्ध जनचेतना फैलँदै गएको छ। नेपाली मूलधारका सञ्चारमाध्यमले व्यापक जनचेतना फैलाएका छन्। नेपाल अर्बुद्ध रोग निवारण संस्थालगायतले हरेक वर्ष यो दिवस मनाउँदै आएका छन्। यसको प्रभाव नेपाली समाजमा देखिन थालेको छ। सार्वजनिक स्थानमा धूमपान गर्ने प्रवृत्तिमा कमी आइसकेको छ। चुरोट, बिँडीलगायतको विज्ञापन देखिन छोडेको छ।

विश्वमा ४० प्रतिशत व्यक्तिलाई क्यान्सर हुनबाट जोगाउन सकिने देखिएको छ। जसको फलस्वरूप विकसित मुलुकहरूमा क्यान्सरका बिरामीको संख्या स्थिर भइसकेको छ। कतिपय मुलुकमा घट्दो क्रममा छ। तर, अल्पविकसित मुलुकहरूमा क्यान्सरका बिरामी ७० प्रतिशत छन्। क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा छ। बिरामीले उपचारमा पहुँच नभएर, ढिलो निदान र उपचार हुने भएकाले मृत्यु बढी छ। जस्तै, पाठेघरको मुखको क्यान्सर। विकसित मुलुकमा पाठेघरको मुखको क्यान्सर प्रति एक लाखमा ११.३ जनालाई हुन्छ। अल्पविकसित मुलुकमा प्रतिलाखमा १८.८ लाई हुन्छ। तर, मृत्यु भने विकसित मुलुकमा प्रतिलाखमा ५.२ जनालाई हुन्छ। अल्पविकसित मुलुकमा प्रतिलाखमा १२.४ जनाको मृत्यु हुन्छ।
यसैगरी स्तन क्यान्सरको हकमा पनि विकसित मुलुकमा प्रतिलाखमा ५५.५ जनालाई क्यान्सर हुन्छ। मृत्यु भने १५ जनाको हुन्छ। अल्पविकसित मुलुकमा प्रतिलाखमा २९.७ जनालाई क्यान्सर हुन्छ भने मृत्यु १२.८ जनाको हुन्छ। यसै किसिमले क्यान्सरको निदान, उपचार र फलो–अपको हकमा पनि विकसित र अल्पविकसित मुलुकमा ठूलो असमानता छ। नेपालमा पनि यस्तै किसिमको असमानता छ। विकसित मुलुकमा सुरुकै अवस्थामा बिरामी अस्पतालमा आउँछन्। उपचार गर्छन् र निको हुन्छन्। तर, दूरदराजमा रहेका क्यान्सरका बिरामी उपचारको पहुँचमा छैनन्। त्यसैले यस वर्षको नारा उपचारमा असमानता हटाऔं भन्ने राखिएको हो। यो नारा तीन वर्षका लागि हो। पहिलो वर्ष असमानताका बुँदाहरू पत्ता लगाउने हो। दोस्रो वर्ष कार्यान्वयनमा जाने हो। तेस्रो वर्ष चुनौतीको सामना गर्दै मृत्युदर घटाउन उल्लेखनीय कार्य गर्ने हो।

नेपालको अवस्था र चुनौती
नेपालमा बर्सेनि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन्। करिब २० हजारको क्यान्सरकै कारण ज्यान जान्छ। धूमपानबाट हुने विशेषगरी फोक्सो, नाक, कान, घाँटी, मुख तथा पिसाब थैलीको क्यान्सर मुख्य छन्। यसका साथै संक्रमणले हुने क्यान्सर जस्तै पेट, पित्तथैली, कलेजो र पाठेघरको मुखको क्यान्सर हुन्छ। अस्वस्थकर खानपिन, निष्कृय जीवनशैली, मोटोपन र शारीरिक व्यायामको कमीलगायत कारणले प्रोस्टेट, आन्द्रा, स्तन, प्याङ्क्रियाजलगायत अंगमा पनि क्यान्सर फैलिँदै गएको छ। निदान र क्यान्सरको चरणमा महत्त्वपूर्ण मानिने मोलिकुलर डाइग्नोसिस, न्युक्लियर मेडिसिन (पेट स्क्यान)को अभावले रोगको सूक्ष्म निदान र क्यान्सरको चरण पत्ता लगाउन गाह्रो भएको हो।

विश्वमा ४० प्रतिशत व्यत्तिलाई क्यान्सर हुनबाट जोगाउन सकिने देखिएको छ। जसको फलस्वरूप विकसित मुलुकहरूमा क्यान्सरका बिरामीको संख्या स्थिर भइसकेको छ।

फलस्वरूप समयमै उपचार पाउन धेरै बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। आर्थिक रूपमा सम्पन्न व्यक्ति विदेश गएर उपचार गर्न सक्छन्। तर, गरिब व्यक्तिहरू उपचारको सम्पत्ति बेच्न बाध्य छन्। क्यान्सरको रोकथाममा महत्त्वपूर्ण मानिने भ्याक्सिनहरू हेपाटाइटिस बी र एचपीभी भ्याक्सिनको पनि सहज आपूर्ति छैन। जसले गर्दा कलेजो र पाठेघरको मुखको क्यान्सर अपेक्षाकृत कम हुने छाँट छैन। हेपाटाइटिस सीको उपचारमा सरकारको उदासीनता देखिन्छ। निको हुने रोग भएर पनि कलेजोको क्यान्सर भई मृत्यु कुर्नुपर्ने बाध्यता छ।

असमानता हटाउने उपाय
क्यान्सरका अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम र नियन्त्रण आवश्यक भइसकेको छ। यसका लागि सर्वप्रथम राज्यले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ। स्वदेशमै चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर इन्स्टिच्युट वा प्रतिष्ठानको रूपमा विकास गर्नुपर्छ। राष्ट्रिय मोलिकुलर डायग्नोस्टिक र न्युक्लियर मेडिसिन केन्द्रको व्यवस्था गर्नुपर्छ। त्यसका लागि चाहिने उपकरणहरू जी टू जी (सरकार र सरकारमार्फत) आपूर्ति गर्ने व्यवस्था मिलाउनु पर्छ। अहिले विभिन्न स्वास्थ्य संस्थामा रहेका रेडियोथेरापी मेसिनहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ। सातै प्रदेशमा थप उपकरण राखी सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराउनु पर्छ।

क्षयरोगमा सरकारले सम्पूर्ण बिरामीको निःशुल्क औषधि उपचार गर्छ। जी टू जीमार्फत सरकारले केमोथेरापीका औषधिहरू खरिद गरी बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था यथाशीघ्र गर्नुपर्छ। कुनै पनि क्यान्सरको अस्पतालमा पुगेपछि बिरामीको एक साताभित्रै रोगको पहिचान गर्ने क्षमताको विकास गराउनु पर्छ। रोगको निदान भएको दुई साताभित्र उपचार सुरु गरिसक्नुपर्ने व्यवस्था गर्नुपर्छ। किनकि उपचार एक महिना ढिलो भएमा पनि मृत्युदर कम्तीमा १० प्रतिशतले बढ्छ। सम्पूर्ण नागरिकलाई हेपाटाइटिस बीको भ्याक्सिन लगाउने व्यवस्था राज्यले गर्नुपर्छ। एचपीभी भ्याक्सिनलाई राष्ट्रिय खोपमा समावेश गरी ९ देखि १३ वर्षका बालिकामा दुई डोज खोप अनिवार्य गर्नुपर्छ।

हेपाटाइटिस सी बिरामीको सातवटै प्रदेशमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्नुपर्छ। डब्लूएचओले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या प्रतिलाख ४ जनाभन्दा कम गर्ने आह्वान गरेको तीन सूत्रीय कार्यक्रम पूर्ण रूपमा लागू गर्नुपर्छ। जसअनुसार १५ वर्ष उमेरका ९० प्रतिशत बालिकालाई खोप लगाउनु पर्छ। ३५ देखि ४५ वर्ष उमेर पुग्दासम्म कम्तीमा दुईपटक प्याप स्मेयर स्क्रिनिङ गर्ने व्यवस्था मिलाउनु पर्छ। ९० प्रतिशत प्रि–क्यान्सर घाउहरूको उपचार गर्ने व्यवस्था गर्नुपर्छ। बहुक्षेत्रीय समन्वयमार्फत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, सञ्चारमाध्यमलगायत सरोकारवालासँग सहकार्य गरी धूमपान नियन्त्रणका लागि  जनचेतना वृद्धि गर्नुपर्छ।
५० वर्ष पुगेपछि सबैले दिसामा रगत जाँच गराउन सुरु गर्नुपर्छ। प्रत्येक १० वर्षमा कोलोनोस्कोपी गर्ने, २१ वर्ष पुगेका विवाहित महिलाले प्यापस्मेयर र ४० वर्षपछिका महिलाले म्यामोग्राफी गर्न सुरु गर्नुपर्छ। राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रमलाई नियमित, अद्यावधिक र विश्वसनीय पार्नुपर्छ। सोको आधारमा विभिन्न जातजाति, क्षेत्रमा देखिने विशेष क्यान्सर समूहमा केन्द्रित भई लगानी गर्नुपर्छ। जस्तो, तराई–मधेसमा मुखको क्यान्सर स्क्रिनिङ गर्ने, हिमाली क्षेत्रमा हेपाटाइटिसको भ्याक्सिन र उपचारमा ध्यान दिनुपर्छ। क्यान्सरविरुद्ध प्रतीकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा प्रशासकलगायत आधारभूतदेखि विशिष्टिकृत र गुणस्तरीय सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ।
प्रस्तुत कार्यक्रमहरू एकैचोटी गर्न सम्भव नभएकाले विज्ञ समूह बनाउनुपर्छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई लागू गर्ने र समीक्षा गर्दै कार्यान्वयन गर्दा क्यान्सरको उपचारमा असमानता न्यूनीकरण गर्न सकिन्छ। आशा छ, निकट भविष्यमा नेपालमा क्यान्सरका बिरामीले सहज ढंगले गुणस्तरीय उपचार सेवा पाउने छन्। क्यान्सरको उपचारमा भएको असमानता पनि हट्नेछ।

(- लेखक नेपाल क्यान्सर सर्जन समाजका अध्यक्ष)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here