भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अन्तर्राष्ट्रिय खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारत, युरोपेली संघ (ईयू), जापानसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेका छन्। प्रस्तावअनुसार विभिन्न देशका वस्तुमा १५ देखि ३५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने योजना छ भने चीनमाथिको शुल्क ४० प्रतिशतसम्म पुग्न सक्ने सम्भावना रहेको छ।

प्रस्तावित शुल्कदर देशअनुसार फरक हुनेछ। चीनका वस्तुमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क प्रस्ताव गरिएको छ। अमेरिका र चीनबीचको अस्थायी व्यापारिक सहमति जनवरी १०, २०२७ मा समाप्त भएमा चीनमाथिको शुल्क ४० प्रतिशतसम्म पुग्न सक्ने उल्लेख छ।

त्यस्तै, भियतनामका वस्तुमा ३५ प्रतिशतसम्म, भारतका वस्तुमा २५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ। व्यापार सम्झौता भएमा भारतका लागि १७ प्रतिशत र भियतनामका लागि २० प्रतिशतमा शुल्क सीमित हुन सक्ने प्रस्तावमा उल्लेख छ।

बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका वस्तुमा १८ प्रतिशतसम्म शुल्क लगाउने प्रस्ताव गरिएको छ। जापान, दक्षिण कोरिया, ताइवान, स्वीट्जरल्यान्ड र युरोपेली संघका वस्तुमा १५ प्रतिशतसम्म तथा सिंगापुरका वस्तुमा २० प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सम्बन्धित देशहरूले लामो समयदेखि औद्योगिक रणनीति, न्यून श्रम लागत, सरकारी आर्थिक सहयोग तथा बजारलाई प्रभावित पार्ने विभिन्न अभ्यासबाट व्यापारिक लाभ लिँदै आएको आरोप लगाएका छन्। उनका अनुसार यस्ता अभ्यासले अमेरिकी उत्पादन क्षेत्रलाई कमजोर बनाएको छ।

अमेरिकी प्रशासनले प्रस्तावित शुल्कलाई आफ्ना उद्योग तथा कामदारको संरक्षण, रोजगारी सिर्जना र व्यापार घाटा कम गर्ने रणनीतिका रूपमा प्रस्तुत गरेको छ।

जनवरी २५ मा सार्वजनिक सुनुवाइ

प्रस्तावित शुल्क तत्काल लागू हुने छैन। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले प्रस्तावमाथि सार्वजनिक टिप्पणी तथा सुझाव माग गरेको छ। आगामी जनवरी ५, २०२७ सम्म लिखित सुझाव दिन सकिने जनाइएको छ भने जनवरी २५ मा सार्वजनिक सुनुवाइ हुने प्रस्तावित कार्यक्रम छ।

सार्वजनिक सुनुवाइ तथा सुझाव संकलनपछि मात्रै कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढ्ने भएकाले नयाँ शुल्क तत्काल लागू हुने निश्चित छैन।

वस्तुको मूल्य बढ्न सक्ने जोखिम

भन्सार शुल्क बढ्दा आयात लागत वृद्धि हुने र त्यसको भार व्यवसायीले उपभोक्तामा सार्न सक्ने भएकाले वस्तुको मूल्य बढ्ने जोखिम रहेको अर्थशास्त्रीहरूले औँल्याउँदै आएका छन्। यसले मुद्रास्फीति बढाउनुका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पार्न सक्ने सम्भावना छ।

प्रस्तावले अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढाउन सक्ने देखिएको छ। व्यापार तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा प्रतिस्पर्धा गरिरहेका दुई मुलुकबीच पछिल्लो समय व्यापार शुल्कसम्बन्धी तनाव अस्थायी रूपमा कम भए पनि नयाँ प्रस्तावले पुनः तनाव बढाउन सक्ने आकलन गरिएको छ।

युरोपेली संघले पनि अमेरिकी प्रस्तावप्रति असहमति जनाउँदै यसको आधार तथा औचित्यबारे अध्ययन गर्ने जनाएको छ।

#HorizonKhabar #InternationalNews #Trump #TradeTariff #USA