काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।
ओलाङचुङगोला (ताप्लेजुङ) नजिक नेपाल–तिब्बत सीमा क्षेत्रमा केन्द्रबिन्दु रहेको उक्त भूकम्प मध्यमस्तरको रहेको भूकम्पविद् अधिकारीले बताएका छन्।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी तथा मध्य तराईका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने हालसम्म सार्वजनिक भएको छैन।
नेपाल भौगोलिक रूपमा भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले हिमालय क्षेत्रमा समय–समयमा भूकम्प जाने गरेको छ।
#HorizonKhabar #Dhading #Earthquake






