नयाँ डिल्ली । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने तालिका छ। त्यसअघि बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिने कार्यक्रम रहेको छ।
करिब आधा घण्टा चल्ने भेटवार्तापछि दुवै प्रधानमन्त्रीबीच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ। नेपाल–भारतबीच आर्थिक साझेदारी, यातायात तथा डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्यका विषय समझदारीपत्रमा समेटिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।
आज दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो राजकीय भारत भ्रमणमा छन्। भ्रमण टोलीसहित उनी आजै अपराह्न ४ः५० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।






