काठमाडौं । दशैँलाई लक्षित गर्दै यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा नलिन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही गरिनेछ। अग्रिम टिकट बुकिङका क्रममा यात्रुलाई सहज र सुरक्षित सेवा दिन तथा कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र तोकिएको पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।
दशैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाउनेछन्।
यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिने भएको छ।
यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाका प्रमुख नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ। गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा आवश्यक सहजीकरणको व्यवस्था मिलाइएको महासंघले जनाएको छ।
यसैगरी, दशैँमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइनेछ। गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।






