काठमाडौं । काठमाडौं महानगरपालिका–१५, चमतीबाट प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५२ वर्षीय मा यागुबी रहेको प्रहरीले जनाएको छ। लागुऔषध कारोबारसम्बन्धी सूचनाका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले उनको डेरामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ठूलो परिमाणमा नगद फेला परे पनि लागुऔषध भने बरामद नभएको प्रहरीको भनाइ छ। प्रहरीले नगदको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, उनको साथबाट सुन काट्न प्रयोग हुने कैँची र डिजिटल तराजुसमेत भेटिएको बताइएको छ। बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। प्रहरीले उनी सुन कारोबारमा समेत संलग्न भए–नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।






