१२ कट्ठामा तरबुजा खेती गर्दै पाँच युवा: तरबुजाबाट बाटै आत्मनिर्भर बन्दै

काठमाडौ । दाङको दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवाले सामूहिक रूपमा तरबुजा खेती गर्दै आत्मनिर्भर बन्ने प्रयास थालेका छन् । बबई नदी आसपासको खेतमा गरिएको खेतीबाट उनीहरूले राम्रो आम्दानी लिन थालेका हुन् ।
स्वदेशमै केही गरेर देखाउने उद्देश्यसहित खेती सुरु गरिएको युवा कृषक कृष्ण चौधरीले बताए । उनका अनुसार अहिले १२ कट्ठा क्षेत्रफलमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा उत्पादन भइरहेको छ ।
उत्पादित तरबुजा गाउँमै बिक्री हुँदै आएको छ । आहाना जातको तरबुजा प्रतिकिलो ८० रुपैयाँ र अन्य जातका तरबुजा प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भइरहेको किसानहरूको भनाइ छ । दैनिक सयदेखि डेढ सय किलोसम्म तरबुजा बिक्री हुने गरेको उनीहरूले बताएका छन् ।
तरबुजाको सिजन सकिएपछि बदाम तथा अन्य तरकारी खेती विस्तार गर्ने योजना समेत युवाहरूले बनाएका छन् । स्थानीयस्तरमै सामूहिक खेतीबाट रोजगारी र आम्दानी सम्भव भएको भन्दै उनीहरूले अन्य युवालाई पनि कृषि क्षेत्रमा लाग्न आग्रह गरेका छन् ।