धादिङ । आदर्श महिला समूह तिरको आयोजनामा तमु ल्होसार (तो ल्हो–घोडा वर्ग) को पावन अवसरमा धादिङको रुबी भ्याली गाउँपालिका–६ तिर गाउँमा टोलस्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ।
कार्यक्रमका प्रमुख आयोजक आदर्श महिला समूह तिर र सह–आयोजक रुबी भ्याली गाउँपालिका वडा नं. ६ रहेका छन्। आयोजकका अनुसार कार्यक्रम वैशाख १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। खेलकुद कार्यक्रमको औपचारिक उद्घाटन आज सोही वडाका अध्यक्ष समीर गुरुङले गर्नुभएको हो।
वैशाख १५ गते तमु ल्होसारको दिन घाटु, मारुनी, दोहोरी तथा विभिन्न नृत्य प्रस्तुति सहित विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी कार्यक्रमको समापन गरिनेछ।
स्थानीय संस्कृति संरक्षण, महिला सशक्तीकरण तथा समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आदर्श महिला समूह तिरले जनाएको छ। आयोजकले स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउन आग्रह गरेका छन्।






