धादिङ । रुवी भ्याली गाउँपालिकाले निःशुल्क मोतिविन्दु शल्यक्रिया तथा आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । सेचेन करुणाको आर्थिक सहयोग र भिजन २०२० नेपालको प्राविधिक सहकार्यमा उक्त शिविर पुस ६ गतेदेखि ९ गतेसम्म रुवी भ्याली आधारभूत अस्पतालमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
शिविरमा मोतिविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया, आँखाको परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिनेछ । सेवाग्राहीहरूलाई सहज रूपमा उपचारमा सहभागी गराउन विभिन्न वडाबाट निश्चित समय र स्थानमा सवारी साधनको व्यवस्था समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङले दुर्गम हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आँखाको उपचारबाट वञ्चित हुन नदिन शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिकहरू यस कार्यक्रमबाट विशेष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष तामाङले सम्बन्धित सबै वडाका नागरिकहरूलाई तोकिएको मिति र समयमा शिविरमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गर्नुभएको छ । गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।






