सामुदायिक विद्यालय सुधार्न गर्नुपर्ने कार्यहरू

काठमाडौ । कुनै पनि विषयलाई हेर्ने हाम्रो दृष्टिकोणले त्यसको मूल्य निर्धारण गर्छ। सकारात्मक सोचले अवसर देखाउँछ भने नकारात्मक सोचले कमजोरी मात्र देखाउँछ। हाम्रो समाजमा अहिले सामुदायिक विद्यालय र सरकारी सेवाप्रति नकारात्मक धारणा हाबी भएको देखिन्छ। धेरैले यी संस्थाबाट गुणस्तरीय सेवा पाइँदैन भन्ने निष्कर्ष निकालिसकेका छन्, जसको परिणामस्वरूप निजी विद्यालय र निजी सेवातर्फ आकर्षण बढेको छ।

तर प्रश्न उठ्छ—राज्य र समुदायको संयुक्त लगानीमा चलेका सामुदायिक विद्यालय साँच्चै काम नलाग्ने भइसकेका हुन् त? त्यहाँ पढ्ने विद्यार्थी कमजोर छन् त? शिक्षक गैरजिम्मेवार छन् त? वास्तविकता हेर्ने हो भने उत्तर ‘होइन’ नै हुन्छ। धेरै सामुदायिक विद्यालयमा सक्षम शिक्षक, सम्भावनायुक्त विद्यार्थी र पर्याप्त भौतिक संरचना छन्। समस्या प्रणालीभन्दा बढी सोच र व्यवहारसँग जोडिएको देखिन्छ।

अपनत्वको कमी

सामुदायिक विद्यालय कमजोर हुनुको मुख्य कारणमध्ये एक हो—अपनत्वको अभाव। विद्यालय मेरो हो, मैले बनाउनु पर्छ भन्ने भावना कमजोर हुँदै गएको छ। कतिपय प्रधानाध्यापक र व्यवस्थापन पक्ष विद्यालय सुधारभन्दा पद र हैसियतमा सीमित देखिन्छन्। शिक्षकले आफ्ना सन्तान निजी विद्यालयमा पढाउनु, व्यवस्थापन समितिले विद्यालयलाई स्रोत दोहनको माध्यम बनाउनुजस्ता प्रवृत्तिले समस्या झनै गहिरिएको छ।

हिजो समुदायले आफ्नै बलबुतामा विद्यालय सञ्चालन गर्दा जुन समर्पण र जिम्मेवारी देखिन्थ्यो, त्यो भावना आज हराउँदै गएको छ। राज्यबाट सुविधा बढे पनि समुदायको सक्रिय सहभागिता घट्दा विद्यालयहरू अपेक्षित रूपमा अघि बढ्न सकेका छैनन्।

गलत धारणा र भाष्य

“सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन” भन्ने धारणा समाजमा गहिरो गरी बसिसकेको छ। यही कारण आर्थिक रूपमा कमजोर परिवारसमेत ठूलो आर्थिक भार बोकेर निजी विद्यालय रोज्न बाध्य छन्। यसले सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै जाने अवस्था सिर्जना गरेको छ।

वास्तवमा प्रतिस्पर्धाबाट छनोट भएका, तालिमप्राप्त शिक्षकले पढाउने विद्यालयलाई कमजोर भन्नु तथ्यसँग मेल खाँदैन। अभिभावकको चासो र निगरानी कमजोर हुँदा विद्यालयको गुणस्तरमा असर परेको यथार्थलाई स्वीकार गर्नैपर्छ।

खुट्टा तान्ने संस्कार

कतिपय सामुदायिक विद्यालयले नयाँ अभ्यास, अङ्ग्रेजी माध्यम, प्रविधि प्रयोग जस्ता प्रयास गर्दा पनि आलोचना र अवरोधको सामना गर्नुपरेको देखिन्छ। राम्रो गर्न खोज्ने विद्यालय र शिक्षकलाई प्रोत्साहन दिनु पर्ने ठाउँमा मुद्दा–मामिला र नकारात्मक प्रचारले हतोत्साहित गर्ने प्रवृत्ति समस्याको अर्को पाटो हो।

विद्यार्थीलाई नबुझ्नु

आजका बालबालिका प्रविधिको युगमा हुर्किरहेका छन्। हिजोको शैलीले आजको पुस्तालाई सिकाउन सकिँदैन। मोबाइल, इन्टरनेट र डिजिटल माध्यमलाई निषेध गर्नेभन्दा पनि त्यसलाई सिकाइसँग जोड्ने नयाँ तरिका अपनाउनु आवश्यक छ।

अब के गर्ने?

सामुदायिक विद्यालय सुधारको सुरुवात सोच परिवर्तनबाट गर्नुपर्छ। अभिभावक, शिक्षक, व्यवस्थापन समिति र समुदाय सबैले विद्यालयलाई आफ्नै साझा थलो ठानी जिम्मेवारी लिन जरुरी छ। अभिभावकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै भर्ना गरेर सक्रिय निगरानी गर्नुपर्छ। आवश्यक परे अङ्ग्रेजी माध्यम, प्रविधिमैत्री कक्षा र अतिरिक्त शिक्षक व्यवस्थापनका लागि सहमतिका आधारमा सहयोग जुटाउन सकिन्छ।

सामुदायिक विद्यालय केवल पढाउने स्थान मात्र होइन, जीवनोपयोगी सीप र संस्कार सिकाउने केन्द्र बन्नुपर्छ। राज्यको लगानी खेर जान नदिन सबै पक्षले अपनत्व र सकारात्मक सोचका साथ अघि बढ्नु आजको आवश्यकता हो।