एकता सन्देश सभामा सहभागिता जनाउन पार्टी कमिटीहरूलाई आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन पार्टीअन्तर्गतका सबै तहका कमिटीलाई आग्रह गरेको छ।

पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको तयारी बैठकले सभाको व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यले मातहतका कमिटीहरूलाई आपसी समन्वयमा काम गर्न निर्देशन दिएको हो। बैठकमा मञ्च व्यवस्थापन, अतिथिहरूको स्वागत, स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताइएको छ।

सभाको आयोजना बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति तथा उपत्यका विशेष प्रदेश समितिको संयुक्त पहलमा हुन लागेको हो। उक्त सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कार्यक्रमको समाचार संकलन तथा सूचना प्रवाहका लागि आउने सञ्चारकर्मीसँग समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालले आवश्यक समन्वय गर्ने निर्णय भएको छ। साथै, उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको सत्कार तथा अन्य व्यवस्थापकीय पक्षको जिम्मेवारी लिनेछन्।

हालै सम्पन्न वामपन्थी शक्तिहरूबीचको एकतापछि देशका विभिन्न भागमा आयोजना गरिएका एकता सन्देश सभाबाट देखिएको जनउत्साह र वर्तमान राजनीतिक अवस्थाबारे शीर्ष नेताहरूले सहभागीहरूलाई जानकारी गराउने कार्यसूची रहेको नेता प्रकाश ज्वालाले बताए।