प्रदेश सरकार गैरजिम्मेवार रूपमा अघि बढिरहेको छ: शालिकराम जम्कट्टेल

काठमाडौ । नेकपाका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकारले गैरजिम्मेवार शैलीमा काम गरिरहेको आरोप लगाएका छन्।

प्रतिपक्ष दलहरूको तर्फबाट मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुलुक गम्भीर राजनीतिक र मानवीय चुनौतीको सामना गरिरहेको अवस्थामा पनि प्रदेश सरकार जनउत्तरदायी हुन नसकेको बताए।

प्रदेश सभाबाट विधिवत् पारित बजेट तथा कार्यक्रमलाई कारण नदेखाई परिवर्तन वा कटौती गर्नु लोकतान्त्रिक प्रणालीविपरीत हुने उनको भनाइ थियो। “सभाबाट पारित भइसकेको बजेटमा मनपरी हस्तक्षेप गर्नु भनेको संसद् र जनभावनाको अवहेलना हो,” उनले बताए।

लामो समयदेखि प्रदेश सभाको अधिवेशन नबोलाइनु र सभामुख चयन प्रक्रिया अल्झिँदा प्रदेश सभा निष्क्रिय अवस्थामा पुगेको उनको आरोप छ। उनले तत्काल हिउँदे अधिवेशन आह्वान गरी प्रदेश सभा तथा जनप्रतिनिधिलाई सक्रिय बनाइनुपर्ने आवश्यकता औँल्याए।

आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन नगर्नु जनमतको कदर नगर्नु सरह हुने उल्लेख गर्दै उनले प्रदेश सरकारलाई संविधानको मर्म र लोकतान्त्रिक मूल्यअनुसार जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।