काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८२ दिन मात्र बाँकी रहँदा समानुपातिक निर्वाचन प्रणालीमा सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। आयोगका अनुसार शुक्रबार ती दलहरूको दर्ता प्रक्रिया पूरा गर्दै चिन्ह वितरण गरिएको हो।
सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले मंसिर २१, २२ र २३ गते तीन दिनभित्र समानुपातिक प्रणालीमा सहभागी हुन दलहरूले आवेदन दिएको जानकारी दिए। यस प्रणालीअन्तर्गत १०० राजनीतिक दलले आवेदन दिएका भए पनि केही दलले एउटै चिन्ह प्रयोग गर्ने गरी संयुक्त आवेदन दिएका कारण कूल ९३ वटा चुनाव चिन्ह कायम भएका छन्।
निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा केही दललाई क्रमसङ्ख्या र चिन्ह दिएको जनाएको छ भने बाँकी दललाई दर्ता क्रमका आधारमा चिन्ह उपलब्ध गराइएको छ।
प्राप्त जानकारीअनुसार पहिलो क्रमसङ्ख्यामा ‘सूर्य’, दोस्रोमा ‘रुख’, तेस्रोमा ‘पाँचकुने तारा’, चौथोमा ‘घण्टी’ र पाँचौँमा ‘हलो’ चुनाव चिन्ह निर्धारण गरिएको छ। यस्तै ढल्केको छाता, लाउडस्पिकर, साइकल, मादल, गिलास, लौरो, नमस्कारको चिन्ह, कुखुराको भाले, कमलको फूल, गितार, घर, हँसियालगायत विभिन्न चिन्ह पनि कायम गरिएको छ।
केही दलले एकल चुनाव चिन्हसमेत प्राप्त गरेका छन्। नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले ‘बस’ चिन्ह पाएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ‘चकिया (जाँतो)’ चिन्ह पाएका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले ‘कोदालो’ तथा सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले ‘जगर भएको सिंह’ चिन्ह प्राप्त गरेका छन्।






