धादिङ । रुवी भ्याली गाउँपालिकाले सेर्तुङ स्थित पुरानो स्थानबाट प्रदान हुँदै आएको प्रशासनिक सेवा अब वडा नं. ४, वृचेतमा निर्मित नयाँ प्रशासनिक भवनबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले नयाँ भवन निर्माण सम्पन्न भएसँगै आजदेखि सबै सेवा स्थायी रूपमा यही भवनबाट प्रदान गर्न तयारी पूरा गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले नयाँ कार्यालय सञ्चालनले सेवा प्रवाह अझ प्रभावकारी बन्ने बताएका छन् । उनले भने, “नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै अब स्थानीयवासीले छरितो, सजिलो र पारदर्शी सेवा पाउनेछन् । सेवामा पहुँच विस्तार हाम्रो प्राथमिकता रहेको बताए ।”
उपाध्यक्ष फेलामा तामाङले स्थायी कार्यालयले स्थानीयलाई सास्ती हटाउने विश्वास व्यक्त गर्दै, “योजनागत तथा सामाजिक विकासका सबै कामहरू यसै भवनबाट अझ व्यवस्थित रूपमा अघि बढाइने बताए ।”
नयाँ भवन सञ्चालनमा आएपछि रुवी भ्याली गाउँपालिकाका सबै प्रशासनिक काम एकीकृत रूपमा वृचेतस्थित स्थायी कार्यालयबाट प्रदान गरिने भएको छ ।







