मुस्ताङ । मुस्ताङ र मनाङलाई जोड्ने लोकप्रिय पदमार्ग सरिबुङ पास हुँदै यात्रा गरेका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक मंगलबारदेखि सम्पर्कमा छैनन्। हिमपात र खराब मौसमका कारण सञ्चार अवरुद्ध भएको अनुमान गरिएको छ।
मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार बिहीबार साँझ उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएको हो। प्रशासनले प्रारम्भिक रूपमा ती पदयात्रीहरू दामोदरकुण्डस्थित धर्मशालामा सुरक्षित हुनसक्ने सम्भावना व्यक्त गरेको छ, जहाँ खान, बस्न र आवश्यक सामग्रीको व्यवस्था छ।
हिमालय एडभेन्चर ट्राभल कम्पनी मार्फत यात्रा गरेका पदयात्रीहरू दुई साताअघि काठमाडौंबाट प्रस्थान गरेका थिए। कम्पनीका व्यवस्थापक दीपक मैनालीका अनुसार टोली दामोदरकुण्डबाट सरिबुङ पास हुँदै मनाङको फु गाउँ तर्फ गइरहेको थियो।
मैनालीले शुक्रबार बिहान मात्रै पथप्रदर्शकहरूसँग छोटो फोन सम्पर्क भएको तर खराब मौसमका कारण विस्तृत कुरा हुन नसकेको बताए। उनले भने, “हामीले गृह मन्त्रालयमार्फत हेलिकप्टर उद्धारका लागि तयारी थालिसकेका छौं।”
सम्पर्कविहीन पदयात्रीहरूको अवस्थाबारे स्पष्ट जानकारी आउन बाँकी छ। हाल मुस्ताङ–मनाङ क्षेत्रका उच्च भागहरूमा निरन्तर हिमपात भइरहेको छ र स्थानीय प्रशासनले ती क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।




























