साउदीमा अमेरिका र रूसबीच युक्रेन युद्ध बिराम बारे वार्ता, युक्रेन अनुपस्थित

अन्तर्राष्ट्रिय खबर । साउदी अरबको राजधानी रियादमा अमेरिका र रूसबीच युक्रेन युद्धसम्बन्धी उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। तर, उक्त बैठकमा युक्रेनी प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको थिएन।

बैठकका सहभागीहरू
बैठकमा अमेरिकाका तर्फबाट विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज, र मध्यपूर्व मामिलाका विशेष दूत स्टिभ विटकफ सहभागी थिए। रूसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ तथा राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ उपस्थित थिए।

रूसको प्रतिक्रिया
बैठकपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेन युद्धबारे वार्ता गर्न राष्ट्रपति पुटिन तयार रहेको तर राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई कानुनी रूपमा मान्यता दिन नसकिने संकेत गरेका छन्। साथै, उनले युक्रेनको युरोपेली संघ प्रवेशप्रति रूसलाई आपत्ति नभए पनि नाटो सदस्यतासम्बन्धी फरक धारणा रहेको बताए।

युक्रेनको अनुपस्थितिमा छलफल
बैठकमा युरोपेली नेताहरूलाई पनि समावेश गरिएको थिएन। युरोप बाहिरिने डरले फ्रान्सेली राष्ट्रपतिले एक दिनअघि नै शिखर सम्मेलन स्थगित गरेको जनाइएको छ। उता, युक्रेनी राष्ट्रपति जेलेन्स्की बैठकका दिन संयुक्त अरब इमिरेट्स पुगेका थिए, तर उनको भ्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

युक्रेन युद्ध समाधानका लागि कूटनीतिक पहल भइरहे पनि वार्तामा संलग्न पक्षहरूको प्रतिनिधित्वबारे प्रश्न उठ्न थालेको छ।